नेपालमा प्रवासी नेपालीहरुको लगानी आकर्षित गर्ने र नेपालको विश्वव्यापी व्यापारिक उपस्थिति सुदृढ बनाउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल उद्योग वाणिज्य महासंघ (सीएनआई) बीच छलफल भएको छ । एनआरएनए आईसीसी अध्यक्ष महेश कुमार श्रेष्ठ र सीएनआई उपाध्यक्ष निर्वाण चौधरीबीच भएको छलफलमा दुवै संस्थाले नीति सुधार, संयुक्त लगानी प्रवद्र्धन, र प्रवासी नेपालीहरुसँग दीर्घकालीन सहकार्य गर्ने विषयमा सहमति जनाएका छन् । छलफलमा सीएनआईले डायस्पोरा तथा विश्वव्यापी व्यापार प्रवद्र्धनमा केन्द्रित कार्य सम्पादनका सर्तहरु (टीओआर) प्रस्तुत गर्दै नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक रणनीतिक पहलहरुबारे जानकारी गराएको थियो । उक्त कार्य योजनामा कूटनीतिक नियोग, आर्थिक परिषद् सदस्यहरु र अन्तर्राष्ट्रिय चेम्बरहरुसँग समन्वय गरी लगानीमैत्री वातावरण सिर्जना गर्ने खाका प्रस्तुत गरिएको छ ।
परिसंघका उपाध्यक्ष चौधरीले नीति संवाद, मुद्दामा आधारित अनुसन्धान र प्रमुख परियोजना पहिचानमा एनआरएनसँग सहकार्य गर्न प्रस्ताव राखेका थिए । उनले भने, ‘नेपालको बैंकिङ र पुँजीबजार प्रणाली सुदृढ हुँदै गएको छ । अबको आवश्यकता भनेको ठोस परियोजना, स्पष्ट नीति र दीर्घकालीन लगानीमैत्री वातावरण निर्माण गर्नु हो ।’ एनआरएनए अध्यक्ष महेश श्रेष्ठले ‘रेमिट फन्ड’ स्थापना गर्ने योजना प्रस्तुत गर्दै प्रवासी नेपाली र वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुले मासिकरूपमा लगानीको रूपमा निश्चित रकम पठाउन सक्ने र यसबाट ठूला विकास परियोजनाहरुमा सहभागी हुने अवसर सिर्जना हुने बताए । उनले ठूला लगानी र साना समूहगत लगानीका लागि फरक नीतिगत संरचना आवश्यक रहेको पनि उल्लेख गरे ।
अध्यक्ष श्रेष्ठले एनआरएनएले आगामी असोज २४–२५ गते काठमाडौंमा ‘एनआरएन लगानी संवाद २०२५’ आयोजना गर्न लागेको जानकारी गराउँदै सीएनआईलाई कार्यक्रमको प्रमुख साझेदार बन्न आमन्त्रण गरेका थिए । यस्तै, छलफलमा प्रवासी र स्वदेशी लगानीकर्ताहरु जोड्ने डिजिटल लगानी प्लेटफर्मको निर्माण; परियोजना विवरण, लगानी पिच र व्यापारिक मिलानको लागि वेबमा आधारित प्रणाली, नीति सुधार पहिचान गर्न पोलिसी ह्याकथानको आयोजना तथा दीर्घकालीन सहकार्यको खाकाको प्रारूपलगायतका विषयमा पनि छलफल गरिएको थियो । दुवै पक्षले आगामी कार्यहरुको अनुगमन र योजना बनाउनका लागि मासिकरूपमा बैठक राख्ने निर्णय पनि गरेका छन् । दुवै संस्थाबीच गम्भीर सहकार्यको प्रारम्भिक आधार तय गरेको एनआरएनए अध्यक्ष श्रेष्ठले बताए ।