नेपाल देशको पहिचान नै कृषिप्रधान हो । तर यही देशमा कृषि उत्पादनको राम्रो व्यवस्था गर्न नसक्दा वार्षिक आधा खर्ब (साढे ६६ अर्ब) रुपैयाँको खाद्यान्न आयात गरिरहिएको सरकारी तथ्यांकले नै देखाएका छन् । यस्तो आयात कुनै विशेष वस्तुको होइन, जो नेपालमा उत्पादन नहोस् । उत्पादन मात्र नभएर खपतको हिसाबले पनि सबैभन्दा बढी हुने वस्तु नै बढी मात्रामा विदेशबाट आइरहेको विवरणहरूले बताउँछन् । चालू वर्ष त बढी खपत हुने धानबाली नै पर्याप्तरूपले लगाउन सकिएको छैन । वर्षाको समय ढल्नै लाग्दा बल्ल बढी धान उत्पादन हुने क्षेत्रमा रोपाइँ गरियो । एकातिर पानी छैन र अर्कातिर पानी परेको बेला मलखाद छैन । दशकौँ देखि कायम रहेको किसानको पीडा यो पटक पनि दोहोरिएको छ । यसले आउँदो वर्ष धानको आयात कुन स्तरले बढ्ने हो भन्ने अहिलेदेखि नै हिसाब राखे हुने अवस्था छ । बाली उत्पादनका लागि सबैभन्दा दुःखद पक्ष नै यही हो । पानी त मान्छेको हातमा अर्थात् सरकारको वशमा नहोला तर बीउबिजन र मलखाद त सरकारले नै व्यवस्था गर्दा हुने कुरा हो । यही नै हुन सकेको छैन ।
गएको आर्थिक वर्ष २०८१/०८२मा मात्रै साढे ६६ अर्ब रुपैयाँको खाद्यान्न आयात भएछ । यो अंकमा आयात भएका यी वस्तु सबै नेपालमा नै अत्यधिक उत्पादन हुनेमा पर्छन् । तर त्यसको लागि राज्यले ध्यान दिन जरुरी छ । भन्सार विभागका अनुसार गएको वर्ष चामल १८ अर्ब ६६ करोड ५९ लाख, दाल सात अर्ब दुई करोड १३ लाख ३१ हजार, गहुँको पिठो १२ लाख ६९ हजार, चना ८४ लाख नौ हजार रुपैयाँबराबरको आयात भयो । मात्राको हिसाबले पनि त्यस्तै देखाउँछ । विभागका अनुसार सो वर्ष चामल २४ करोड १५ लाख ५३ हजार, दाल सात करोड दुई लाख ८५ हजार, गहुँको पिठो २५ हजार ९६ किलो र चना ७४ हजार तीन सय किलो आयात भएको छ । उल्लिखित कुनै पनि वस्तु नेपालका खेतीमा नहुने होइनन् । धानको उत्पादन त नहुने भन्ने कुनै भू–भाग नै छैन । तराईदेखि हिमाली प्रदेश सबैतिर यसको उत्पादन हुन्छ । त्यही धान गएको वर्ष २१ अर्ब ५२ करोड ३७ लाख ८४ हजार रुपैयाँको आयो । त्यस्तै सबैतिर उत्पादन हुने अर्को बाली हो, मकै । गएको वर्ष १९ अर्ब २७ करोड ६८ लाख ८७ हजार रुपैयाँको मकै आयात भएको भन्सारको तथ्यांकले बताएको छ । परिमाणका हिसाबले उक्त वर्ष धान ५३ करोड ३७ लाख १५ हजार किलो, मकै ३८ करोड ३१ लाख नौ हजार किलो आएका छन् ।
प्रत्येक वर्ष अन्नको आयात बढिरहेकै देखिन्छ । विज्ञहरूका अनुसार कृषिप्रधान देश भनिए पनि कृषिजन्य सामग्री आयातका लागि अर्बौँ रकम खर्चिनु दुःखद हो । किसानभन्दा पनि गैरकिसानले कागजको भरमा लगानी लिने प्रवृत्ति छ । वास्तविक किसान भने मल, बीउ, सिँचाइ, कृषि, सडकलगायतका सामग्रीको अभावमा उत्पादन बढाउन नसक्ने अवस्थामा छन् । त्यस कारण पनि यो स्थिति आएको हो । यी वस्तु ल्याइने देश दुई छिमेकीमै पर्छन् । त्यसमाथि अन्नको धेरै ठूलो हिस्सा भने भारतको रहने गरेको देखिन्छ । खाद्यान्न उत्पादनका लागि नेपाल र भारतका भूमि करिब–करिब समान नै छन् । भारत नेपालभन्दा जनसंख्याका हिसाबले पनि कयौँ गुना ठूलो देश हो । त्यसले आफ्नो देशको उत्पादनले आफ्ना नागरिकलाई धानिरहेको छ । त्यसो हो भने नेपालले आफ्नै देशमा उत्पादन बढाउन त्यसको अनुकरण किन नगर्ने ? भन्ने प्रश्न उठ्छ । यसको सही जवाफ खोजिए मात्रै खाद्यान्नको आयात घट्ला ।