नेपाल कृषिप्रधान देश हो । जहाँ विभिन्न प्रकारका नगदे बालीहरू उत्पादन गरिन्छ । तीमध्ये अलैँची एक महत्वपूर्ण नगदे बाली हो । जसले हजारौँ किसानको जीवनस्तर उकास्न सहयोग पुर्याएको छ । विशेषतः पूर्वी नेपालका पहाडी जिल्लाहरूमा यसको उत्पादन व्यापकरूपमा हुनेगरेको छ । पछिल्लो समय अलैँचीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । जसले यस क्षेत्रलाई अझ आकर्षक बनाएको छ । अलैँची एक किसिमको विभिन्न परिकारहरूलाई मिठो बनाउने एक सुगन्धित मसला पनि हो । यो मुख्यतः हिमाली क्षेत्रको उपयुक्त जलवायुमा उत्पादन हुने बाली हो । यो अलैँचीलाई ‘कालो अलैँची’ पनि भनिन्छ र यसको प्रयोग खाद्य पदार्थमा स्वाद र सुगन्ध थप्नका लागि गरिन्छ । यो देशको हिमाली र मध्यपहाडी भू–भागमा उत्पादन हुने नगदे बाली हो । यसको सुगन्धित स्वाद र औषधीय गुणले गर्दा अन्तर्राष्ट्रिय बजारमा यसको धेरै माग छ । तर, हालैका वर्षहरूमा नेपालमा अलैँचीको मूल्य अत्यधिकरूपमा बढेको छ । जसले उत्पादक किसानहरूका लागि आशा बोकेको भए पनि उपभोक्ता र व्यापारीहरूका लागि चिन्ताको विषय बनेको छ । तसर्थ मुलुकमा अलैँचीको उच्च मूल्यका कारणहरू, प्रभावहरू, समाधानका उपायहरू, प्रदेशगत उत्पादन तथ्यांक समावेश गरिएको छ । यहाँको भूगोल, जलवायु र माटो विविध खालका बाली खेतीका लागि उपयुक्त छ । तीमध्ये अलैँची देशकै मौलिक नगदे बाली मानिन्छ । किनकि यसले किसानलाई नगदे आम्दानी दिलाउने र विदेशी बजारमा उच्च मूल्य पाइने गरेको छ । यसर्थ अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य बढिरहेको र नेपाल विश्वको प्रमुख उत्पादक देशमध्ये एक भएको कारण यस बालीले नेपालको आर्थिक समृद्धिमा विशेष भूमिका खेलेको छ । तसर्थ देशको अलैँची उत्पादन मुख्यतः पूर्वी र मध्य–पहाडी जिल्लामा केन्द्रित छ । यो बाली विशेषगरी तराईभन्दा पहाडी क्षेत्रको चिसो, आद्र्र र उर्वर माटोमा राम्रो हुन्छ ।
नेपालको अलैँची खेती ७७ जिल्लाहरूमध्ये ४२ जिल्लामा फैलिएको छ र यसले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याइरहेको छ । यो कोशी प्रदेश मुख्य उत्पादन केन्द्र भए पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका प्रदेशहरूमा समेत यसको खेती विस्तार हुँदै गएको छ । यसको अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्य पाउने भएकाले यसलाई कालो सुन भनिन्छ । यसले नेपालका किसानलाई आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको छ । यसरी भावी दिनमा उचित नीतिगत समर्थन, वैज्ञानिक खेती प्रवर्द्धन र प्रत्यक्ष निर्यात प्रणाली विकास गर्न सकिएमा अलैँची नेपालकै प्रमुख निर्यात योग्य उत्पादन बन्न सक्छ । यसले नेपालको ग्रामीण अर्थतन्त्र, रोजगारी र समग्र राष्ट्रिय विकासमा दीर्घकालीन योगदान गर्नेछ । यसलाई प्रदेशगतरुपमा अलैँची उत्पादन र मूल्यको योगदानको अवलोकनलाई प्रस्तुत गरिएको छ । यसमा कोशी प्रदेशमा नेपालको अलैँची उत्पादनमा सबैभन्दा ठूलो हिस्सा रहेको छ । यसमा इलाम, पाँचथर, ताप्लेजुङ र संखुवासभा नै मुख्य केन्द्रहरू हुन् । करिब ६० प्रतिशतभन्दा बढी उत्पादन यिनै जिल्लाहरूबाट हुन्छ । इलाम मात्र वार्षिक दुई हजार पाँच सय मेट्रिक टनभन्दा बढी अलैँची उत्पादन गर्ने पहिला जिल्ला हो । उच्च गुणस्तरको अलैँची निर्यात भारत हुँदै विश्व बजारमा पुग्छ । त्यसैगरी, मधेश प्रदेशमा अलैँची उत्पादन थोरै भए पनि सिरहा, धनुषा, महोत्तरीमा घरेलु खपतका लागि खेती हुन्छ । यसको बजार मूल्यले यहाँका किसानलाई पनि आकर्षित गरेको छ । त्यस्तै, बागमती प्रदेशमा सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेजस्ता जिल्लामा अलैँची खेतीलाई व्यवसायिकरूपमा विस्तार गरिएको छ । बागमती प्रदेशले करिब १५ प्रतिशत अलैँची उत्पादन गर्नेगरेको छ । त्यसरी नै गण्डकी प्रदेशका लम्जुङ, गोरखा, तनहुँ, कास्की, स्याङ्जा आदि जिल्लामा अलैँची खेतीको राम्रो सम्भावना देर्खिएको छ । यहाँको उत्पादन करिब १० देखि १२ प्रतिशत छ । त्यसरी लुम्बिनी प्रदेशमा गुल्मी, पाल्पा, अर्घाखाँची जस्ता जिल्लामा अलैँची खेती बढ्दै गएको छ । यो प्रदेशले करिब ५ प्रतिशत उत्पादन गर्ने गर्दछ । त्यसरी कर्णाली प्रदेशमा दैलेख, जाजरकोट, सुर्खेत, सल्यानमा अलैँची खेतीको अभ्यास बढ्दै छ । यहाँ करिब ३ देखि ४ प्रतिशत अलैँची उत्पादन हुन्छ । र सुदूरपश्चिम प्रदेशमा दार्चुला र बैतडीमा अलैँची खेती सीमित मात्रामा भए पनि यसको महत्व बढ्दो छ । फलतः अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य उच्च हुने भएकाले किसानलाई प्रत्यक्ष आम्दानी हुन्छ । हाल बजार मूल्य प्रतिकिलो २५ सयदेखि ३५ सय रुपैयाँसम्म पुग्ने गरेको छ । कहिलेकाहीँ उत्पादन कम हुँदा मूल्य प्रतिकिलो चार हजारभन्दा माथि पनि पुगेको छ । यो एक हेक्टर जमिनबाट वार्षिक पाँच सयदेखि सात सय किलो अलैँची उत्पादन हुन्छ भने यसबाट लाखौँ रुपैयाँ आम्दानी हुने गर्दछ । यसले गाउँघरमा सानातिना रोजगारी सिर्जना, महिला सहभागिता, सहकारी संस्थाको विकास र विदेशी मुद्रा आर्जनमा योगदान पुर्याएको छ ।
नेपाल विश्वकै दोस्रो ठूलो अलैँची उत्पादक देश हो । यसको साथै भारत, भुटान र नेपाल विश्वबजारमा अलैँचीका प्रमुख आपूर्तिकर्ता हुन् । नेपालमा उत्पादित अलैँची प्रायः भारत हुँदै तेस्रो मुलुकहरूमा निर्यात हुन्छ । यसरी भन्ने नै हो भने चीन, पाकिस्तान, युरोपेली मुलुक, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कतारलगायतका देशमा यसको माग उच्च छ । फलतः मुलुकमा वार्षिक आठ हजार मेट्रिक टनभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ भने वार्षिक निर्यात मूल्य २५ अर्ब रुपैयाँभन्दा माथि पुगेको तथ्यांक छ । यसै क्रममा अलैँची आर्थिक वर्ष २०७८/७९मा क्षेत्रफल १५ हजार नौ सय ७५ हेक्टर, उत्पादन आठ हजार सात सय १४ मेट्रिक टन, आर्थिक वर्ष २०७९/८०मा अलैँचीको क्षेत्रफल १५ हजार नौ सय ७५ र उत्पादन आठ हजार छ सय ७४ मेट्रिक टन र आर्थिक वर्ष २०८०/८१को क्षेत्रफल १६ हजार तीन सय ८२ हेक्टरमा उत्पादन आठ हजार आठ सय आठ मेट्रिक टन भएको थियो । यसमा ताप्लेजुङ र इलाम जिल्लाले सबैभन्दा बढी योगदान पुर्याउँछन् । वस्तुतः पछिल्लो दशकमा अलैँचीको खेतीमा उल्लेखनीय वृद्धि भएको छ, विशेषतः युवा पुस्ता पनि आकर्षित हुन थालेका छन् ।
यसको मूल्यको हिसाबले राष्ट्रका किसानको जीवनस्तर उकास्ने क्षमता भएको यो नगदे बालीबाट धेरै जिल्ला आत्मनिर्भर बन्न पुगेका छन् । यद्यपि, राष्ट्रमा अलैँची उत्पादन र उच्च मूल्य नेपालको कृषि र निर्यात अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण छ । तदनुरुप उत्पादन प्रविधि र बजार व्यवस्थापनमा सुधार गर्दा अलैँची क्षेत्र विकासमा नयाँ उचाइमा पुग्न सक्छ । यसले कृषकहरूको सामाजिक–आर्थिक अवस्था सुधार गर्न र देशको समग्र विकासमा योगदान दिन सक्छ । यसैले, अलैँची उत्पादनलाई मात्र कृषिमा नभई अर्थतन्त्रमा पहल गरेर समन्वयात्मक योजना र लगानी आवश्यक छ । यस्तो प्रयासले नेपाललाई विश्व बजारमा अलैँचीको एक विशिष्ट र उच्च गुणवत्ताको उत्पादनकर्ता बन्न मद्दत गर्नेछ ।
समग्रमा भन्नुपर्दा अलैँची मुलुकको पहाडी क्षेत्रको अमूल्य सम्पत्ति पनि हो । यसको उत्पादनले किसानको जीवनस्तर सुधार गरेको छ भने मूल्य वृद्धिले यसलाई अझ आकर्षक बनाएको छ । यद्यपि, केही चुनौतीहरू पनि यसमा रहेका छन् । जुन देशमा अलैँचीको उच्च मूल्य जटिल आर्थिक, सामाजिक र पर्यावरणीय कारकहरूको परिणाम पनि हो । अपितुः अन्तर्राष्ट्रिय मागले आशा जगाएको छ भने आपूर्ति अभाव, उत्पादन लागत बृद्धि, कमजोर बजार व्यवस्थापन र जलवायु परिवर्तनले यसलाई टिकाउन चुनौतीपूर्ण बनाएको छ । यसले किसानहरूमा आय वृद्धिको सम्भावना बोकेको छ भने उपभोक्ताहरूमा महँगोपनको बोझ पनि बढाएको छ । मूलतः दीर्घकालमा यसको समाधान उत्पादन र उत्पादकत्व वृद्धि, किसान सशक्तीकरण, बजार सुधार, मूल्यवर्धन र सरकारको प्रभावकारी नीति र समर्थनमा नै निर्भर गर्दछ । जबसम्म नेपाली अलैँचीको हरियो सुनले सही व्यवस्थापन र निवेश गर्न सकेमा देशको विशेषगरी हिमाली क्षेत्रको आर्थिक विकासमा ठूलो योगदान पुर्याउन सक्ने सम्भावना बोकेको छ । तर, यसको टिकाउपन र स्थायित्वको लागि जलवायु अनुकूलन, सतत खेती अभ्यास र न्यायपूर्ण बजार व्यवस्था अति आवश्यक छन् । तर उचित नीति, प्रविधि र बजार व्यवस्थापनले यी चुनौतीहरू पार गर्न सकिन्छ । त्यसै कारणले होला अलैँची देशको समृद्धिको एक महत्वपूर्ण आधार बन्न सक्छ ।