युनेस्कोको आह्वानमा ‘डिजिटल युगमा साक्षरताको प्रवद्र्धन’ भन्ने नाराका साथ ५९औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२५ भर्खरै मनाइएको छ । डिजिटल साक्षर युग भन्नाले कम्प्युटर, स्मार्टफोन, इन्टरनेट, सामाजिक सञ्जालजस्ता डिजिटल साधनको प्रयोग गरी सूचना खोज्ने, विश्लेषण गर्ने, मूल्यांकन गर्ने, सिर्जना गर्ने र सुरक्षित ढंगले प्रयोग गर्ने क्षमतालाई जनाउँछ । यसले शिक्षा, सञ्चार, अर्थतन्त्र र शासनलाई डिजिटल बनाएको छ । सूचना र प्रविधिका उपकरणको सदुपयोगका लागि डिजिटल साक्षरता प्रस्थान विन्दुको रूपमा लिन सकिन्छ । यसमा सूचना, साक्षरता, सञ्चार, साइबर सुरक्षा तथा डिजिटल आचारसंहिता समेत समावेश हुन्छ । नेपालले पनि अनलाइन शिक्षा र डिजिटल बैंकिङ तथा सुशासनको क्षेत्रमा उल्लेख्य प्रगति गर्दै छ । यद्यपि ग्रामीण पहुँच, साइबर सुरक्षा र सचेतनाको कमीले डिजिटल साक्षरताको पर्याप्त विकास र विस्तार हुन सकेको छैन ।
सन् १९६५मा इरानको राजधानी तेहरानमा भएको विश्वभरका शिक्षा मन्त्रीहरूको सम्मेलनले मानव सशक्तीकरणमा साक्षरताको महत्वबारे पहिलो पटक संस्थागतरूपमा स्वीकारेको थियो । त्यसैको आधारमा सन् १९६६मा युनेस्कोले हरेक वर्षको ८ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने घोषणा गरेसँगै १९६७ देखि उक्त दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने चलन चलेको हो । नेपालले पहिला शिक्षा दिवसकै दिन साक्षरता दिवस गाभेर मनाउने गरेको थियो तर लोकतन्त्रको सुरुवातीसँगै युनेस्कोले घोषणा गरेकै दिनमा यो दिवस छुट्टै मनाउन थालेको हो । यस दिवसको सार्थकता भनेकै साक्षरताको विकास र विस्तार गरेर आम जनतालाई सशक्तीकरण गर्दै पारस्परिक समझदारीका साथ शान्तिपूर्ण गुणस्तरीय जीवन जिउन सक्षम बनाउनु हो ।
साक्षरतालाई पढ्न, लेख्न तथा गुणस्तरीय आधारभूत ज्ञान र सीपको प्रयोग गर्दै सामाजिक एवं व्यावहारिक दैनिक जीवनमा सक्रियतापूर्वक सहभागी जनाउन सक्ने सक्षमतालाई बुझाउँछ । अहिलेको प्रतिस्पर्धी युगमा हरेक क्षेत्रमा नयाँ–नयाँ विषयवस्तुहरूको आविष्कार र प्रादुर्भाव भइराखेका छन् । विगतमा जस्तै अक्षर साक्षरताले मात्रै सफल जीवन जिउन सकिँदैन । प्रत्येक क्षेत्रको जानकारी राख्न सूंचना प्रविधिको अहम् भूमिका रहन्छ । कम्प्युटर तथा मोबाइलजस्ता प्रविधिको पर्याप्त प्रयोगबाट सूचनाको आदानप्रदान गर्नसक्ने आधारभूत क्षमतालाई डिजिटल साक्षरता भनिन्छ । अमेरिकी पुस्तकालय संघले डिजिटल साक्षरतालाई सूचना र सञ्चार प्रविधिको प्रयोग गरी सञ्चार गर्ने, सिर्जना गर्ने, मूल्यांकन गर्ने, आवश्यक ज्ञान र प्राविधिक सीपहरूको क्षमताको रूपमा परिभाषित गरेको छ ।
नेपालमा डिजिटल साक्षरताको अवस्था
नेपालमा डिजिटल साक्षरताको अवस्था सुधारोन्मुख रहेको उदाहरण विभिन्न, तथ्यांक, अध्ययन र अभ्यासले पुष्टि गर्छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको मिड डिसेम्बर २०२३को प्रतिवेदनअनुसार सामान्य साक्षरता दर ७६.३५ प्रतिशत, वित्तीय साक्षरता करिब ५७.९५ प्रतिशत र डिजिटल साक्षरता करिब ३१.५ को हाराहारीमा रहेको देखिन्छ । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग वृद्धि दर सरदर १५ र ३५ प्रतिशत क्रमशः रहेको देखिन्छ ।
चालू १६औँ योजनाले अघि सारेको सूचना प्रविधियुक्त राष्ट्र निर्माण गर्ने सोचअनुसार कार्यक्रमहरू क्रमशः कार्यान्वयन हुँदै आएको पाइन्छ । आव २०८२।८३को नीति तथा कार्यक्रमको बुँदा नं ११२मा डिजिटल नेपालको फ्रेमवर्कको कार्यक्रमलाई थप प्रभावकारी बनाइने, सूचना प्रविधिको क्षेत्रमा नवीनतम् प्रविधिको विकास र विस्तारका लागि डिजिटल इकोसिस्टम निर्माण गरिने तथा आर्टिफिसियल इन्टेलिजेन्सको विकास र नैतिक प्रयोगका लागि संस्थागत र कानुनी आधार तयार गरिने उल्लेख भएको छ । साथै बजेट वक्तव्यमा डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करणको तर्जुमा गरिने र डिजिटल साक्षरताका विशेष कार्यक्रम सञ्चालन तथा डिजिटल पूर्वाधार विकास गर्न ७४ करोड रुपैयाँ विनियोजन भएको छ ।
सूचना प्रविधि नीति २०६७को व्यवस्था
उच्चस्तरीय सूचना प्रविधि आयोगले सूचना प्रविधि नीति २०६७ ल्याएको थियो । यस नीतिमा सूचना प्रविधिको प्रयोगमा विकास र विस्तारका लागि विभिन्न प्रावधानहरूको व्यवस्था गरिएको छ । विद्यालयहरूमा क्रमशः इन्टरनेट सुविधाको विकास गर्दै लाने, सूचना प्रविधि शिक्षाको निरन्तरता, सान्दर्भिक गुणस्तरयुक्त शिक्षाको माध्यमबाट स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूसँग समन्वय र सहकार्यलाई प्रोत्साहन गर्ने, सूचना प्रविधिसँग सम्बनिधत उद्योग र सूचना प्रविधि शिक्षा दिने शैक्षिक संस्थाहरूबीचको सहकार्यलाई प्रोत्साहन गर्ने, विद्यालयहरूमा क्रमशः शिक्षक, विद्यार्थीलक्षित कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने आदि प्रमुख छन् ।
डिजिटल युगको विशेषता
डिजिटल युगको विशेषता बहुआयमिक छ । सन् १९६०को दशकदेखि कम्प्युटर तथा सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास र विस्तार भएको थियो । यस समयमा भएको डिजिटलको विकास र विस्तारलाई तेस्रोे औद्योगिक क्रान्तिको रूपमा पनि व्याख्या गरिएको छ । यस युगमा सूचना र सञ्चार प्रविधिमा तीव्र विकास र वृद्धि भइराखेकोले सूचनाको युग पनि भनिन्छ । इन्टरनेटको सुविधाको कारण संसारभरका सूचना सहजरूपमा तत्काल प्राप्त हुने अवसर प्राप्त छ । ईमेल, जुम, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालबाट विश्वव्यापी सम्पर्कमा सुगमता आएको छ । सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्मको कारण लुकेर रहेको कला, कौशलता र प्रतिभालाई प्रस्फुटन गर्न सहयोग गर्छ । अनलाइन बैंकिङ मोबाइल वालेट, ई–व्यापार आदिले आर्थिक कारोबारमा चुस्तता आएको छ । शिक्षा क्षेत्रमा अनलाइन शिक्षण, ई–लर्निङ प्लेटफर्म र डिजिटल कक्षाको प्रभाव र प्रयोगको गतिमा व्यापकता छाउन थालेको छ । युट्युब, टिकटक, ब्लग, पोडकास्टमार्फत सिर्जनात्मकतामा सुविधाको कारण डिजिटल संस्कृतिको उदय र लोकप्रियता बढ्दै छ । स्वास्थ्य क्षेत्रमा पनि साक्षरताकले महत्वपूर्ण भूमिका खेलेको छ । अनलाइन स्वास्थ्य सेवा, इलेक्टोनिक हेल्थ रेकर्डहरू, टेलिमेडिसिन, स्वास्थ्य वेब पोर्टलहरू, अनलाइन स्वास्थ्य परामर्शहरू विकास र विस्तार हुँदै गएका छन् ।
चुनौतीहरू
डिजिटल साक्षरताको विकास र विस्तारलाई प्रभाव पार्ने विभिन्न चुनौतीहरू पनि देखिएका छन् । भौगोलिक विकटता र पूर्वाधारको अभावका कारण सेवा प्रवाहमा असर, ग्रामीण क्षेत्रमा इन्टरनेट र उपकरणको अभाव, डिजिटल सीपबारे पर्याप्त तालिम र सचेतनाको कमी, साइबर अपराध, गलत स्रूचना र गोपनीयताको संकट, सहर गाउँ, तथा शिक्षित अशिक्षितबीच ठूलो खाडल रहनुलाई प्रमुख चुनौतीको रूपमा लिन सकिन्छ । सामाजिक सञ्जालको दुरूपयोगका कारण विकृति र विसङ्गति मौलाउँदै गएको छ । अधुरो ज्ञानको कारण बैंकबाट रकम अर्कैले उछिट्याउने तथा अन्य साइबर अपराधहरूमा निर्दोष फस्ने र गरेको घटनाहरूलाई पनि चुनौतीको रूपमा देखा पर्ने क्रम बढ्दो छ ।
अवसरहरू
डिजिटल साक्षरताको विकास र विस्तारका लागि नयाँ–नयाँ अवसरहरूको पहिचान र प्रादुर्भाव पनि हुँदै छ । डिजिटल सीपको माग र बजारको दायरा फराकिलो हुँदै छ । रोजगार र आयआर्जनको आकर्षक क्षेत्रको रूपमा डिजिटल विशेषज्ञता स्थापित हुन पुगेको छ । शिक्षा, स्वास्थ्य, कृषी तथा वित्तीय क्षेत्रमा बढ्दो डिजिटल प्रयोगले सुशासन र गुणस्तरमा सुधारमा योगदान पुगेको छ । युवालाई आईटी, आउटसोर्सिङ र फ्रिल्यान्सिङबाट रोजगारीको अवसरको सिर्जना भएको छ । अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने क्षमताको विकास गर्ने अवसर र सुविधा सुनिश्चितता हुने क्रममा छ । डिजिटल अर्थतन्त्रले नेपालको आर्थिक विकासमा सहयोग गर्नसक्ने सम्भावनालाई समेत उजागर गरेको छ ।
निष्कर्ष
आज डिजिटल साक्षरताको अपरिहार्य बनिसकेको छ । पढ्नेलेख्ने अक्षर साक्षरताले मात्र सहज जीवनयापन गर्न कठिन हुने वास्तविकता हो । हरेक क्षेत्रमा कम्प्युटर शिक्षाको गति तीव्र बन्दै गएको छ । ईसेवा, खल्ती, फोन–पे, क्यूआर कोडजस्ता डिजिटल बैंकिङ सेवा लोकप्रिय भएका छन् । सरकारले डिजिटल नेपाल फ्रेमवर्क ल्याएको छ । नागरिक एपको सेवाको विकास र विस्तारले जनतालाई सेवा लिन दिन सहज बनाएको छ । ग्रामीण क्षेत्रमा इन्टेरनेटको विस्तार भइरहेको भए पनि पहुँच र नियमितताको अवस्था भरपर्दो बनाउन थप प्रयास गर्नुपर्ने देखिन्छ ।
साक्षरताले मात्र अबको जीवन सहज छैन । डिजिटल साक्षरता मात्रै नभएर डिजिटलसम्बन्धी अध्यावधिक ज्ञान र सीपले मात्र प्रतिस्पर्धी जीवन जिउन सहज हुन्छ । समयानुकूल दक्ष जनशक्ति उत्पादनका लागि नेपालले डिजिटल साक्षरता तथा विशेषज्ञ जनशक्ति उत्पादन गर्न सूचना र प्रविधिका क्षेत्रमा धक फुकाएर लगानी गर्नु दूरदर्शिता ठहर्छ ।