विसं २०८२ साल भदौका ७४ सहिद, विसं १९९७ साल माघका चार अमर सहिदसँग तुलनीय छन् । ०९७ सालका चार सहिद एक सय चार वर्षको जहानियाँ निरङ्कुश राणा शासनको विरुद्ध नेपाल आमाकै धर्ती (कोख) भित्रबाट उठेको नवजागरण क्रान्तिका नायक थिए भने ०८२ सालका ७४ सहिद विगत ३५ वर्षको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र नामको मनपरितन्त्र, लुटतन्त्र जनघात (नेपाली बेच्ने) राष्ट्रघात (देश बेच्ने) कुशासन भ्रष्टाचारका विरुद्ध नेपाल आमाकै कोखबाट जन्मेर उठेको नवजागरण आन्दोलनका नायक हुन् ।
जसरी सन् ५०को नेपाल–भारत असमान सन्धिलाई संस्थागत गर्न ७ फागुन २००७ सालको ‘प्रजातन्त्र दिवस’लाई ‘भारततन्त्र दिवस’मा परिणत गरेर विसं २००८ सालदेखि ०२७ सालसम्म नेपालका पूर्वी पहाडी जिल्लाका १८ ठाउँमा भारतीय सैनिक क्याम्प खडा गरेर नेपालको सार्वभौमिकतालाई बन्धकीमा पारेर चार सहिदका सपना चकनाचुर पारिएको थियो भने त्यसैगरी ७४ सहिदका सपना पनि चकनाचुर नपारियोस् भन्ने आशंकामा प्रस्तुत पाठ्यक्रम अभिलेख गर्न अग्रसर भएको हुँ । र यस पाठ्यक्रममा ९७ सालका चार सहिद र ८२ सालका ७४ सहिद नेपाल आमाकै धर्तीभित्रबाट उठेको नवजागरण आन्दोलनका नायक भन्ने भाष्यलाई विशेष रुपमा ख्याल गरियोस् भन्ने विशेष आग्रह गर्दछु । किनभने यस (जेन–जी) आन्दोलनका पछाडि कुनै गान्धीवाद, मार्क्सवाद, लेनिन–माओवादको वैचारिक आवरण प्रभाव र दिशा निर्देशान नरहेर विगत सात दशकमा नेपाली जनताले भोगेका झेलेका व्यवस्था र प्रणालीका अनुभवबाट जागेको नवजागरणको उपज हो । फल हो ।
यस नवजागरणलाई सैद्धान्तिक विचारधाराको आवरण परिभाषा दिनुपर्दा ‘नेपाल वाद’ या ‘पृथ्वीपथ’ नामाकरण गर्न सकिन्छ । विगत ७६ वर्ष (नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी स्थापनाको साल विसं २००६ साललाई प्रस्थान विन्दु मानिएको हो । यसमा नेपाली कांग्रेस स्थापनाको एउटा उल्लेखनीय प्रारब्ध संकेत देखिन्छ । सुवर्ण शमशेर नेतृत्वको ‘नेपाली प्रजातन्त्र कांग्रेस’ र बीपी कोइराला नेतृत्व ‘नेपाली राष्ट्रिय कांग्रेस’ मर्ज भएर जोडिएर ‘नेपाली कांग्रेस’को जन्म हुँदा सुवर्णको कांग्रेसबाट ‘प्रजातन्त्र’ र बीपीको कांग्रेसबाट ‘राष्ट्रिय’ हटाइएको थियो । प्रारब्धको यो संकेत ७६ सालपछि अक्षरंस चरितार्थ भयो । कांग्रेसमा अब न प्रजातन्त्र रह्यो न राष्ट्रियता । डिल्लीरमण रेग्मी र बीपी कोइरालाको घर्षणबाट गर्भाधान भएको नेपाल कम्युनिस्ट पार्टी (पुष्पलाल) पनि अब तुहियोदेखि सरकार र सत्ता (विदेशीवाद र निहित स्वार्थ)को अभीष्ट अनुकूल प्राइमरी स्कुलदेखि विश्वविद्यालयसम्म पाठ्यक्रम निर्माण हुनेगरेको हो । खासगरी विसं २०२८ साल नयाँ शिक्षानीति लागू भएयता (प्राइमरी स्कुलका पाठ्यक्रमबाट नैतिक शिक्षा हटाइयो)का पाठ्यक्रम निर्माता प्राडाहरूले वैदेशिक प्रभाव र घुसपैठको भाष्य निर्माण गरे र गरिरहेका छन्, त्यो पूर्णरुपमा देश, जनाता र प्रणालीअनुकूल थिएन र छैन । ०७ साल फागुन ७ गते ‘प्रजातन्त्र’ नामको ‘भारततन्त्र’ नै सत्ता र सरकारमा निर्णायक (बीचको राजा महेन्द्रको १० वर्षबाहेक) रहँदै आएको हुँदा ‘जेन–जी’को नवजागरण आन्दोलनलाई भाँड्न र भड्काउन वैदेशिक स्वार्थ बोकेका दलहरू तिनका नेतृत्व मरिमेटेर लाग्नु स्वाभाविक हो । यस तथ्यलाई ओझेलमा पारेर ‘जेन–जी’ पुस्ताको नवजागरणबाट उठेको ऐतिहासिक आन्दोलन (क्रान्ति)लाई अमेरिका भारतको प्रत्यक्ष हात भन्ने भाष्य खडा गर्नु आत्मघाती सोच, समझ, नियत हो, जसलाई पर्गेल्न आजका ‘जेन–जी’ पुस्ता र भोलि आउने ‘जेन–अल्फा’ पुस्ता अवश्य सक्षम हुनेछन् भन्ने पंक्तिकारलाई पूर्ण विश्वास छ । वायुवेगलाई थुनेर राख्न कसैबाट पनि सम्भव हुन्न । समयले खोजेको विचारधाराभन्दा दुनियाँमा केही पनि कोही पनि शक्तिशाली हुन्न । जुन तथ्य (प्रकृति) देउवा, ओली, प्रचण्डको पछिल्लो अवसानबाट पुष्टि र प्रमाणित भइसकेको छ ।
‘जेन–जी’ पुस्ताका नवजागरण नायकहरूका अगाडि यतिखेरको सबैभन्दा टड्कारो र उत्तर खोज्नैपर्ने प्रश्न हो ‘दश मनमा एक मन’ पनि कतै कल्पना र आकांक्षा नभएको कसरी आन्दोलन अपहरण र हिंसात्मक हुन पुग्यो ? यो प्रश्नको ठीक उत्तर फेला परेर त्यसको निहितार्थ छर्लङ्ग नहुँदासम्म अगाडिको बाटो उज्यालो नहुने निश्चित छ । यसलाई संक्षिप्तमा भन्नुपर्दा विसं २०५१ सालको मध्यावधिबाट आएको संसद्बाट ‘महाकाली सन्धि’ गरिएयता देशभन्दा माथि दलहरू र दलहरूभन्दा माथि भएका नेताहरू विदेशी शक्तिको कठपुतली भएका कारण पछिल्लो जस्तो (२३÷२४ भदौ) परिणाम झेल्नु र भोग्नु परेको हो । यसको मूल कारण राजनीतिशास्त्रको विश्वव्यापी स्थापित मान्यता के हो भने ‘प्राण गएको मानिस र विचार हराएको पार्टी एउटै हो–लास । लासको प्रकृति समयमै अन्त्येष्टि हुन सकेन भने त्यो कुहुन्छ, गनाउँछ र रोग फैलाउन थाल्छ ।’ नेपालमा अहिले त्यही भएको हो । ‘महाकाली सन्धि’ले देश बेचेयता विचार हराएका नेपालका दलहरू कुहेर, गनाएर, रोग फैलाउने चरणमा पुगेर कोरोनाभन्दा पनि खतरनाक क्यान्सर भएका हुन् । २३–२४ भदौको घटना त्यही क्यान्सरको महामारी देश, जनता र प्रणालीले झेल्नुपरेको हो । ६ महिनापछिको घोषित निर्वाचनले महामारीका रुपमा फैलिसकेको क्यान्सर उपचार हुने भूलभूलैयामा अलमलिने ‘जेन–जी’ पुस्तालाई छुट छैन ।
खुलेआम ‘मलाई मन्त्री बनाऊ’ भन्दै दिदीको साइनो जोड्दै सुशीलाले चमत्कार गरिन् । ‘देशको मुहार कायापलट हुन्छ’जस्ता गीत गाउँदै हालसालै दुर्गा प्रसाईँले सार्वजनिक गरेका गुगलमा अभिलेख विभिन्न नामका डलरखेतीका संस्थाहरू (बार्बरा फाउन्डेसन, समता फाउन्डेसन, हामी नेपाल आदि इत्यादि)बाट पालित पोषित एउटा ठूलो प्राडा, वकिल र पत्रकारहरूको जमात राष्ट्रपति रामचन्द्र पौडेलले ०७२को संविधान जोगाइदिए भन्दै जुन स्याल हुइयाँ मच्चाइरहेका छन् त्यो नितान्त क्षेत्रीयता, जातीयता र धार्मिक द्वन्दमा नेपाललाई फसाएर अस्थिरताको खाल्डोमा जाक्ने अभियानको निरन्तरता मात्र हो । देश, जनता र प्रणालीका लागि कोरोनाभन्दा पनि खतरनाक क्यान्सर भएका दलहरूको पक्ष पोषण मात्र हो । ७४ जना ‘जेन–जी’ पुस्ताका भविष्यका कर्णाधार नेपाल आमाका सपूतहरूको टाउको र छातीमा गोली हान्न लगाउने जनघाति राष्ट्रघाति अपराधी खड्गप्रसाद ओलीको सिफारिसमा किर्ते हस्ताक्षरको अभियुक्त राष्ट्रपति रामचन्द्र पौडेलबाट नियूक्तिपत्र लिएर प्रधानमन्त्रीको शपथ खाएकी सुशीला कार्कीबाट ६ महिनामा चुनाव भएर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री पाइने आशा राख्नु योभन्दा राजनीतिक अज्ञानता र भ्रम अरु हुनै सक्दैन । त्यसो हुँदा ‘जेन–जी’ पुस्ताले सबैभन्दा पहिलो पाठ्यक्रम राजनीतिक चेतना (जागरण) विकासलाई बनाउनु आवश्यक छ । अपरिहार्य छ । राजनीतिक चेतना जागरणको प्राइमरी पाठशाला (कखग) भनेको इतिहास हो । जबसम्म इतिहासको ठिक ढंङ्गले अध्ययन हुँदैन तवसम्म राजनीतिको सही दिशा र बाटो ठम्याउन सकिदैन । त्यही भएर ०७२ को संविधान र त्यसले निम्त्याएको वर्तमान विकराल हालतको (चीन फ्याक्टरले मात्र अहिलेसम्म नेपालको सार्वभौमिकता जोगिएको) केही इतिहासको सूत्र रुपको पृष्ठभूमि यहाँ संकेत गर्न खोजेको छु । यति संकेत पाएपछि विस्तृत अध्ययनमा पुग्न ‘जेन–जी’ पुस्ता र त्यसपछि आउने ‘जेन–अल्फा’ पुस्ता आफैँ सक्षम हुनेछन् भन्ने विश्वास लिएको छु ।
भारत (उसको नेपाल हेर्ने ‘नेहरू डक्ट्रिन’)ले नेपालमा १९ वर्षसम्म गाडेका सैनिक क्याम्प उखेल्दा (लखेट्दा) राजा महेन्द्रको मात्र ५१ वर्षको उमेरमा हत्या भएको अब त प्रामाणिकरुपमै पाठ्यक्रम उपलब्ध छ । राजा महेन्द्रको १० वर्ष (०१७–०२८) शासनकालको आर्थिक अवस्थाको अध्ययन गरियोस् । ‘महाकाली सन्धि’ पारित हुन अवरोध पुर्याउन खोज्दा मदन भण्डारीको हत्या र राजा वीरेन्द्रको वंश विनाश भयो । त्रिशुली नदीमा लास भेटिएका मदन भण्डारीको पोष्टमार्टम गर्ने अन्तर्राष्ट्रियस्तरका ख्याति प्राप्त डा. रामप्रसाद उप्रेतीको बयानअनुसार फोक्सोमा एकथोपा पनि नदीको पानी थिएन । जुन रिपोर्ट लुकाइएकोमा २४ भदौमा जलेको खड्ग ओलीको घरमा फाइल भेटिएको सामाजिक संजालमा समाचार आएको थियो । ‘महाकाली सन्धी’बाट लिपुलेक, लिपियाधुरा, कालापानी भारतको नक्शाभित्र पुगेको ‘त्यो नेपालको भूमि हो’ भन्ने प्रमाण चीनलाई बुझाउने प्रयास गर्दा सुशील कोइराला (पूर्वप्रधानमन्त्री तथा पूर्व कांग्रेस अध्यक्ष)को हत्या भएको आम बुझाई छ । राजसंस्था रहुन्जेलसम्म जातिय, क्षेत्रीय, धार्मिक द्वन्द्व मच्चाएर नेपाललाई पूर्णरुपमा ध्वस्त पार्न नसकिने देखिएपछि भारतीय सैनिक खुफिया संस्था ‘रअ’को योजना र सहयोगमा १० वर्षे माओवादी हिंसात्मक रगतपच्छे दुर्भाग्य मच्चाएर ‘गणतन्त्र’ (०७२को संविधान) आएको भन्ने त भारतका पूर्वराष्ट्रपति प्रवण मुखर्जीको किताबमा सबै पाठ्यक्रम अभिलेख छँदैछ ।
अहिलेलाई ‘जेन–जी’ पुस्ताले माथि संकेत गरिएका यति इतिहास मात्र पर्गेल्न जाँगर गरे ७४ जना सहिद भएका आन्दोलन किन र कसरी अपहरणमा पर्यो भन्ने सबै छर्लङ्ग भइहाल्छ र ०७२को संविधान कुनै पनि हालतमा जोगाउनुपर्छ भनेर न्वारानदेखिको बल निकालेर स्याल हुइयाँ मच्चाउने युवराज संग्रौलाजस्ता आदि इत्यादि सय/दुई सय प्राडाहरूको सोच, समझ, नियतको सम्पूर्ण तात्पर्य पनि छर्लङ्ग भइहाल्छ । जहाँसम्म प्रधानमन्त्री या राष्ट्रपतिको प्रत्यक्ष निर्वाचनको कुरो छ सूर्यबहादुर थापाको जनमतसंग्रह धाँधलीमा ४० लाख र राष्ट्रपति रामचन्द्र पौडेलको किर्ते हस्ताक्षरबाट ४० लाख भारतीयले नेपाली नागरिकता लिएका संयुक्त राष्ट्र संघकै अभिलेख तथ्यांक हो । अर्कोतर्फ ८० लाख बलिया पाखुरी जनसंख्या विदेशमा कामदार हुन विवश छन् । यस्तोमा ‘जेन–जी’ले चाहेको उम्मेदवार त्यो पनि ६ महिनाभित्रको प्रचारमा कसरी सम्भव छ ?
मेरो यस पाठ्यक्रमको लिगेसी र आधिकारितामा उत्सुकता उत्पन्न भए यसै साप्ताहिक स्तम्भको असार १ गते आइतवारदेखिका नियमित आलेख गुगलमा सर्च गरेर ढुक्क हुन अनुरोध गर्दछु । अस्तु ।