काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले लगानी, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्यका लागि चिनियाँ व्यवसायीलाई आग्रह गरेका छन् ।
चाइनिज जनरल एसोसिएसन अफ इन्डस्ट्रिज एन्ड कमर्सका अध्यक्ष फान जियाओबोसँग भएको भेटवार्तामा निवर्तमान अध्यक्ष मल्लले नेपाल–चीन व्यापारिक सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउन सहकार्यको प्रस्ताव गरेका छन् । मल्लले चीनसँगको व्यापारिक सम्बन्धलाई अझ सशक्त बनाउन कृषि, पूर्वाधार विकास, प्रविधिमैत्री र पर्यटन क्षेत्रमा सहकार्य हुनुुपर्ने बताए । नेपालमा चिनियाँ लगानी र प्रविधि भित्र्याएर दीर्घकालीन व्यावसायिक साझेदारीमार्फत दुवै देशले लाभ लिन सक्ने निवर्तमान अध्यक्ष मल्लको भनाइ छ । उनले भने, ‘चीनदेखि भारत सीमासम्मको पूर्वाधार विकास र राजमार्ग निर्माण गर्न सकेमा त्रिदेशीय व्यापारिक लाभ प्राप्त गर्न सकिन्छ ।’ नेपालले भौगोलिकरुपमा चीन र भारतबीचको व्यापारिक पुलको रूपमा कार्य गर्न सक्ने सम्भावनामा उनले जोड दिए ।
नेपालमा होटल पूर्वाधारमा लगानीमार्फत चिनियाँ पर्यटक आकर्षित गर्न सकिने मल्लले बताए । उनले भने, ‘चीनमा करिब १० करोड बौद्ध धर्मावलम्बी रहेका छन् । त्यसको एक प्रतिशत करिब १० लाख पर्यटक मात्रै नेपाल भित्र्याउन सकिए अर्थतन्त्रमा महत्वपूूर्ण योगदान पुुग्नेछ ।’ नेपालका सुन, तामा, युरेनियमलगायतका खानीहरूको प्रचुर सम्भावनालाई औँल्याउँदै उनले त्यसको अनुसन्धान, प्रशोधन र निर्यातमा चिनियाँ लगानीको अवसर खुला रहेको बताए । चीनसँग नेपालको व्यापार घाटा उच्च रहेको अध्यक्ष मल्लले बताए । उनले भने, ‘चीनबाट २.५३ अर्ब डलर बराबरको आयात हुँदा नेपालले जम्मा १५.४९ मिलियन डलरको मात्रै निर्यात गरेको छ ।’ यस असन्तुलन घटाउन उत्पादनमूलक उद्योग, प्रविधि स्थानान्तरण र निर्यातमुखी लगानीमा संयुक्त पहल आवश्यक रहेको मल्लले बताए ।
सूचना प्रविधि क्षेत्रमा संयुक्त लगानीमार्फत पुनः निर्यातको सम्भावना रहेको बताउँदै मल्लले नीतिगत स्पष्टता र प्रतिफल सुनिश्चितताका लागि चेम्बर प्रतिबद्ध रहेको बताए । चेम्बर पदाधिकारीसँगको भेटवार्ताका क्रममा अध्यक्ष फान जियाओबोले नेपालबाट निर्यात प्रवर्द्धन गर्न आफूहरु प्रयासरत रहेको बताए । उनले नेपालको पर्यटन क्षेत्रको विकास, होटल व्यवसायमा लगानी र व्यापारिक सहकार्यको पहललाई सकारात्मकरूपमा अघि बढाइने प्रतिबद्धता जनाए । नेपालको कृषि र पर्यटन क्षेत्रमा संयुक्त लगानीका लागि पहल गर्ने उनको भनाइ थियो ।