महँगी बढेका घटेका जस्ता कुरा नागरिकका प्रत्यक्ष जीवनसँग सरोकार राख्ने विषय हुन् । महँगी घटेको हो कि बढेको भन्ने कुरा उठनासाथ कुनैपनि घरमा त्यसले एउटा चर्चा पाउछ । बढेको भन्ने कुराले घटेको भन्नेले आनन्दित तुल्याउँछ । त्यसपछिमात्र त्यसको अंक कति हो भन्ने हेर्न थालिन्छ । त्यसकारण पनि कुनैपनि सरकारले आफ्नो कामलाई जनताको तल्लोतहसम्म पुर्याउने हो भने महँगीको बढ्दो अवस्थालाई नियन्त्रण गर्दै जेजति हो घटाउने तर्फनै लाग्नुपर्ने सुझाव दिइन्छ । तर यता सरकार महँगी घटेको भन्छ बजारमा भने त्यस्तो देखिँदैन । तर, अत्यधिक उपभोग हुने बस्तुहरुको बजारमा भने झनै बढेको पाइन्छ । अवस्था कस्तोसम्म भने सरकारका भनाइ समेत विश्वासलाग्द हुँदैनन् । या एउटा पक्षले गर्दा सरकारका अन्य उपलब्धी पनि विश्वासयोग्य मानिँदैनन् । त्यसकारण महँगीका बारे सरकारले बोल्दा बजारमा कसरी प्रतिविम्बित भैरहेको छ भन्ने ख्याल गर्नुपर्ने ठानिएको हुनुपर्छ । तर सरकारी निकाय भने यस प्रतिबेखबर जस्तै देखिने गरेका छन् । बिगतमा यस्तै हुँदै आइरहने गरेका थिए भने यो पटकपनि त्यस्तै भएको देखिन्छ ।
पछिल्लोसमय राष्ट्र बैंकले महँगीका सन्दर्भमा प्रतिवेदन सार्वजनिक गरेको छ । त्यसमा गएका तीन महिना साउन, भदौ र असोजमा गत वर्षको तुलनामा महँगी घटेको देखाएको छ । तर यथार्थमा बजारमा मूल्यवृद्धि उच्च रहेको नै उपभोक्ताहरुको भोगाइ छ । यो कुरा खासगरी गृहिणीहरुका प्रतिक्रियामा उजागर भैरहेका छन् । त्यसमा उनीहरुले उल्टो प्रश्न सोधेका छन्, मूल्यवृद्धि घटेको हो भने त्यो कहाँ, अत्यधिक उपभोगमा आउने कुन बस्तुबाट देखिएका छ ? बैंकको प्रतिवेदनमा भने चालू आवको असोज महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ४७ प्रतिशतमा रहेको देखाइएको छ । निश्चय नै अघिल्लो वर्षको सोही महिनाको तुलनामा घटेको पनि होला । अघिल्लो वर्षको यही अवधीमा यस्तो मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत थियो । यस्तो अंकको तुलना गर्दा महँगी एकैपटक करिब तीन अंकले घटेको भन्नुपर्छ । चार दशमलव ८२ प्रतिशत रहेको ठाउँमा एक दशमलव ४७ प्रतिशतमा आएको कुरा निकै ठूलो हो । यस्तो महँगी घटेको कुरा बजारमा प्रतिविम्बित हुनपाएका भए कम्तीमा यी तीन महिनामा सरकारले उपलब्धी हात पारेको मान्नुपर्छ र उपभोक्ताहरुले पनि खुलारुपले प्रशंसा गरेका हुनुपर्छ । तर त्यस्तो केही भएको छैन । त्यसकारण पनि प्रतिवेदनमा देखिएको मूल्यको उतारचढाव कागजी मात्र रहेको ठम्याइ हुनसक्तछ ।
प्रतिवेदन अनुसार यो समयमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति दुई दशमलव ५४ प्रतिशतले ऋणात्मक देखिएको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ८० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः सात दशमलव २० प्रतिशत र तीन दशमलव ४९ प्रतिशत थियो । सेवा समूहभन्दा आमनागरिकलाई तुरन्तै प्रभाव पार्ने भनेको खाद्य तथा पेय पदार्थ समूह नै हो । राष्ट्र बैंकका अनुसार नै आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको औसत मुद्रास्फीति एक दशमलव ६७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव २६ प्रतिशत रहेको थियो । बजारमा महँगीको तत्कालै थपघट देखिने वस्तु भनेको तरकारी समूहको हो जो वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १५ दशमलव ६३ प्रतिशत रहेकोछ । त्यस्तै मरमसलाको सात दशमलव ८२ प्रतिशत र दाल तथा गेडागुडीको चार दशमलव ४१ प्रतिशतले घटेको देखाइएको छ । अरु वस्तु भनेका सधैँ खरिद गर्नुपर्ने होइनन् तर खाद्य वस्तुभने त्यस्ता हुँदैनन् । त्यसकारण यदि विवरणमा महँगी घटेको देखिन्छ भने बजारमा किन बढेको हो भने सरकारले पत्ता लाउनुपर्यो । निरन्तर अनुगमन हुने हो भनेपनि केहीहदसम्म उभोक्तालाई आस्वस्त बनाउँछ । यसतर्फ सरकारको ध्यान जाओस् ।