आर्थिक विकासको मेरुदण्डको रुपमा पर्यटनक्षेत्रलाई उपयोग गर्न सकिन्छ । आन्तरिक र बाह्य पर्यटनलाई विकास र विस्तार उतिकै महत्वका साथ गरिनु आवश्यक हुन्छ । हाम्रो पर्यटन नीति विदेशीमुखी भएको कारणबाट पनि आन्तरिक पर्यटनतर्फ त्यति ध्यान नपुगेको जगजाहेर नै छ । नेपालमा आन्तरिक पर्यटनको अवधारणा पुरानै भएपनि पछिल्ला तीन दशकदेखि क्रमिक रुपमा विकास र विस्तार हुँदै आएको हो । कोभिड १९को महामारी ताका अन्तर्राष्टिय उडान तथा छिमेकी देशहरुमा सीमा बन्द भएपछि आन्तरिक पर्यटन प्रति आकर्षण झन बढ्दै गएको देखिन्छ । दसैं तिहार लगायतका सार्वजनिक विदाहरुमा आन्तरिक पर्यटनमा घुइचो हुने गरेको छ । आन्तरिक पर्यटन केबल विदाको रमाइलो मात्र नभएर राष्ट्रिय एकता, धार्मिक, सांस्कृतिक पुनर्जागरण एवं सम्बर्धन र प्रचार प्रशारको माध्यम पनि हो । पछिल्ला समयमा सानोतिनो लगानी र घरमा नै बसेर स्थानीय पर्यटनस्थलको सम्बर्धन र प्रचार प्रशार गर्दै राम्रो आयआर्जनको आधार आन्तरिक पर्यटन हुने क्रम बढ्दै गएको छ ।
नेपाली पोशाक, जातजाति, धर्म, पाहुना सत्कार, धार्मिक संस्कारमा विविधता, सांस्कृतिक धार्मिक सम्पदामा प्रचुरता आदी पर्यटकीय आकर्षणका क्षेत्र हुन् । युनेस्कोबाट विश्व सम्पदा सूचीमा सूचिकृत धरोहर स्तूपा, मन्दिर, गुम्बा, विहार, दरबारहरुको संरक्षण र सम्बद्र्धनमा समेत तदारुकता नदेखिनु दुखद हो। कुनैबेला मन्दिरै मन्दिरको सहर भनेर चिनिएको काठमाडौं उपत्यका घरहरुको अस्तव्यस्त कन्क्रिड जंगलको छाँयामा परेको छ। भूकम्पबाट प्रभावित उपत्यका भित्रका काठमाण्डू दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, स्वयम्भूनाथ, पशुपतिनाथ, बौद्धनाथ, चाँगूनारायण मन्दिरको जिर्णोद्धारमा उदासिनताको कारणले पनि सांस्कृतिक धार्मिक पर्यटनमा धक्का लागेको छ। उपत्यका बाहिर बराहक्षेत्र, हलेसी, कालिन्चोक भगवती, पाथिभरा भगवती, दोलखा भिमसेन, शैलुंग, मनकामनना, गोरखा दरबार,जनकपुर, लुम्बिनी, मुक्तिनाथ, गोसाइकुण्ड, स्वर्गद्वारी, खप्तड आश्रम, विन्धवासिनी, बराही पोखरा फेवातालगायतका ताल आदी असंख्य धार्मिक सांस्कृतिक प्राकृतिकस्थलको प्रचारप्रशार र पर्यटकमैत्री वातावरणका अभावले पर्याप्त पर्यटक भित्र्याउन सकिएको छैन । यस वास्तविकतालाई हेक्का राखेर सरकारले पनि बाह्य पर्यटनका साथै आन्तरिक पर्यटन प्रबर्द्धनमा ध्यान दिनु दूरदर्शिता ठहर्छ ।
नेपाल सरकारको आर्थिक वर्ष २०८२।८३ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सिमित कार्यक्रमहरु राखिएको देखिन्छ । नेपाललाई प्राकृतिक सांस्कृतिक, साहसिक र चलचित्र पर्यटनको सुरक्षित तथा आकर्षक गन्तव्यको रुपमा विकास गरिने, पर्यटन व्यवसायलाई आयआर्जन, रोजगारी र समृद्धिको आधारको रुपमा विकास गरिने, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र उचित व्यवस्थापनलाई प्रमुखरुपमा उल्लेख गरिएको छ । चालू १६औं पञ्चवर्षीय योजनाका प्रमुख कार्यक्रममा पर्यटन पूर्वाधारको विकास, पर्यटन बजारको विकास, विस्तार तथा सुदृढिकरण, गुणस्तरीय लगानी आकर्षण र पर्यटकीय क्रियाकलाप तथा गन्तव्यको विविधिकरण गर्ने, एक जिल्ला न्यूनतम एक पर्यटकीय गन्तव्य र आतिथ्य व्यवस्थापनमा सुधार गर्ने आदी समावेश गरिएको छ । वर्तमानको वार्षिक ११।१२ लाख पर्यटक आगमनलाई आव २०८५।८६ सम्म २५ लाख पुर्याउने र जीडीपीमा पर्यटन क्षेत्रको योगदान दुई प्रतिशतबाट सात प्रतिसत पुर्याउने लक्ष सोह्रौं योजनाको छ । कमजोर आर्थिक स्थिति भएको नेपालले आधुनिक वैभवपूर्ण संरचना निर्माण गरेर पर्यटक आकर्षण गर्ने आधार नभए तापनि प्राकृतिक मनोरम दृश्य तथा धार्मिक सांस्कृतिक संरचना र संस्कारले पर्यटन व्यवसाय फस्टाउन प्रचुर मद्दत पुग्ने जगजाहेर छ । हामीे प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदा र सभ्यताको धनी भएर पनि सदुपयोग गर्न नसक्नु भनेको माल पाएर चाल नपाएको टीठ लाग्दो अवस्था हो ।
पर्यटन विकासको महत्व र मार्गचित्रको बारेमा बहस एवम् प्रचारप्रसार पर्याप्त हुन सकेको छैन् । हाम्रो जस्तो प्राकृतिक, धार्मिक विविधताले भरिएको देशमा पर्यटक आकर्षण गर्ने अनेक उपाय हुन सक्छन् । विश्वमा पर्यटनको आधार प्राकृतिक सौन्दर्य, कला, संस्कृति, धर्म, सामाजिक रीतिरिवाज, खेलकुद, शिक्षा आदी प्रमुख हुन्। नेपाल सांस्कृतिक, धार्मिक र प्राकृतिक विविधताको रोचक संगमस्थल हो । नेपालको सांस्कृतिक र धार्मिक विरासत शताब्दीऔं पुरानो र विश्वमा अनुपम छ । अतिथी देवोभव संस्कार संस्कृतिमा अभ्यस्त नेपालीहरुको जीवनस्तर उकास्न पर्यटन प्रवद्र्धन बरदान सावित हुन सक्छ। नेपाली समाजको सुमधुर संरचना विभिन्न जातजाति, धर्म, संस्कार र संस्कृतिको अनुपम समझदारीका साथै सहकार्यमा जीवन्त रहेको छ । यहाँको चाडपर्व, संस्कार र दिनचर्या तथा सुमधुर धार्मिक सहिष्णुता अन्य देशहरुका लागि उदाहरणीय र अनुकरणीय हुन सक्छन् । विभिन्न जातजाति तथा समुदायको पहिचान र परिचय उनीहरुको रहनसहन, संगीत र नृत्यमा प्रकट हुन्छ। कला र शील्प, लोक गीत र वाद्यवादन, भाषा र साहित्य, दर्शन र धर्म, त्यौहार र उत्सव, खाना र पेयमा मुखरित हुन्छ । सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्न मौजुदा विशिष्ट संस्कृतिको संरक्षण र विकासमा विशेष ध्यान दिनुपर्ने हुन्छ । संस्कृति र सभ्यताको धनी सुन्दर देश नेपालबारे फितलो प्रचारप्रशारका कारण पर्यटन विकासमा आसालाग्दो उपलब्धी हासिल हुन सकेको छैन् । नेपालमा पर्यटन विकासका आधार एवं चर्चा र चुनौती बारे रौंचिरा विश्लेषणका आधारमा भविष्यदर्शी नीनित तथा कार्यक्रम ल्याउन सरकार र सरोकार पक्ष चुकेको महसुस हुन्छ ।
अहिले तीन करोडको हाराहारीमा जनसंख्या भएको सानो भूगोल भित्र प्राकृतिक विविधता असंख्य जातजाती र भाषा संस्कार संस्कृतिले भरिपूर्ण भएको देश विश्वमा नेपाल मात्रै होला। यहाँको विविधता हेर्न अवलोकन गर्न मात्रै नभएर पूर्वीय दर्शन, संस्कार संस्कृतिको अध्ययन अनुसन्धानकर्ताको लागि पनि उत्तिकै रोजाइको क्षेत्र पर्ने संभावना प्रचुर छ । हाम्रो धार्मिक सांस्कृतिक र प्राकृतिक वैभवको दिगो संरक्षण र विकास गर्दै पर्यटक भित्र्याउन ठोस नीति र रणनीतिको खाँचो खट्किएको सर्वत्र महसुस गरिएको छ। हाम्रा पुर्खाले आर्जेको र प्रकृतिले दिएको बरदानको सदुपयोग गर्दै सम्पन्नतातिर लम्किन नेतृत्वमा दूरदर्शी सोच र दृढ इच्छाशक्ति आवश्यक छ। संसारमै ठूलो उद्योगको रुपमा स्थापित र विस्तारित हुदै गएको पर्यटन उद्योग हाम्रोमा प्राथमिकतामा नपर्नु विडम्बना हो। सम्पन्नताको प्रचुर स्रोतसाधानयुक्त भूमिमा बसेर अरुको आस गर्नुु भनेको सुनको कटौरामा भीख माग्नु जस्तै हो
बोल्नेको पीठो विक्छ नबोल्नेको चामल पनि विक्दैन् भन्ने नेपाली भनाइ पर्यटन विकासका सरोेकार निकायले आत्मसात गरेको पाइदैन । नेपाल आउने पर्यटक संख्याअनुसार भाषा र शैलीमा राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु मार्फत प्रचार प्रशार गर्ने तर्फ खासै ठोस योजना देखिदैन । नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र सहासिक पर्यटकीय गन्तव्यका रुपमा विश्व बजारमा स्थापित गराउने खालका आक्रमक प्रचार प्रशार कार्यक्रहरुको खाँचो खट्किएको देखिन्छ। पर्यटकीय स्थलहरुको प्रचार प्रसार, पहिचान भएका गन्तव्यहरुको पूर्वाधार निर्माणमा तीब्रता र थप नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान, विकास र प्रवर्द्धनका लागि प्राथमिकता दिइनुपर्ने देखिन्छ । ऐतिहासिक पर्यटकीस्थल गढी, किल्ला, दरबारआदीको महत्वको प्रचार गर्दै संरक्षण र सहज पहूँचका लागि आवश्यक व्यवस्था गरिनुपर्दछ। पर्वतीय पर्यटन, कृषि पर्यटन, ग्रामीण पर्यटन,जलयात्रा पर्यटन, धार्मिक सांस्कृतिक पर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटन जस्ता क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकासमा जोड दिइनु पर्दछ । वाह्यको साथसाथै आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै पर्यटन विकासको पूर्वाधारको रुपमा लिइने बाटो, वासस्थान अन्तरगत होटल, होम स्टे, र सुरक्षित वातावरणको सुनिश्चितताले मात्रै दिगो पर्यटन विकासमा टेवा पुग्ने वास्तविकता हो। नेपालको परम्परा, लोपोन्मुख भाषा, कला र संस्कृति, रीतिरिवाजआदीको संरक्षणका लागि एक राष्ट्रिय तथा सबै प्रदेशमा प्रदेशस्तरीय सांस्कृतिक संग्राहलयको स्थापना दिगो पर्यटन विकासका लागि सकारात्मक पहल ठहरिने छ। तीन तहका सरकारको नीति तथा कार्यक्रममा पर्यटन व्यवसायलाई प्राथमिकतका साथ सम्वोधन भएमा दिगो पर्यटन विकासमा टेवा पुग्नेतर्फ सरकार र सरोकार पक्षको हेक्का पुग्नु जरुरी छ ।
मानिसहरु पर्यटकको रुपमा ज्ञान, अध्ययन, अनुसन्धान, मनोरञ्जन आदिका लागि संसारका विभिन्न ठाउँमा पुगिराखेका हुन्छन् । सूचना र सञ्चार प्रविधिको प्रचूर विकास र विस्तार भएको आजको युगमा ज्ञानको दायरा पनि फराकिलो हुदै जानु स्वभाविकै हो। आफ्नो देशमा लुकेका भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिक लगायतका दुर्लभ तथ्यहरु उजागर गरी कीर्तिमान कायम राख्ने होड नै चलेको छ। विविधताले भरिपूर्ण हाम्रा प्राकृतिक सांस्कृतिक र धार्मिक संरचना पर्यटकीय गतिविधीका लागि लोभलाग्दा छन्। प्रकृतिलाई नजिकबाट नियालेर मज्जा लिनका लागि पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, तलाउ विहार, स्काइ डाइभिङ, रक क्लाइम्बिङ, बन्जी जम्पिङ,क्यानोनिङ, सहासिक खेल जिपवायर, जङ्गल सफारी, गुफाको यात्रा, हिमाली यात्रा, जङ्गली जनावर, गाउँवस्तीको अनुपम मौलिकता पर्यटन विकासका प्राकृतिक आधारहरु हुन् । हामीले पनि उल्लेख्य मात्रामा पर्यटक भित्र्याउने रणनीतिक व्यवहारिक योजनाको खाँचो छ । खर्चको हिसावले पनि विश्वको सस्तो देश नेपालमा मनोरञ्जन र अध्ययनका लागि आउन र रमाउन सहज रहेको विज्ञापन सन्देश प्रवाहमा कन्जुस्याई गरिनु हुन्न् ।