राज्यसत्तामा एकलौटी मनपरितन्त्र, लुटतन्त्र मच्चाइरहेका विदेशीतत्व (सीआईए, रअ) तस्कर माफिया, घुसखोर, भ्रष्टाचारी, विचौलिया र तिनका भरिया बनेका दलहरूका नेतृत्व देउवा, ओली, प्रचण्ड, माधव, लिङदेल, सिटौला, शेखर, गगन, वर्षमान, बाबुराम, उपेन्द्र, आदि इत्यादिका सारा काला कर्तुत देश बेचेका (लिपुलेक, लिपियाधुरा, कालापानी भारतको नक्साभित्र) जनता लुटेका (७५ लाख जनताका सहकारीमा बचत लुट ८० लाखलाई विदेशी कामदारमा लखेटेर रेमिट्यान्समा नेपोवेवीका रङ्गरेलिया मोजमस्ती) आम सर्वसाधारण ग्रामीण वस्ती र माध्यमिक विद्यालय (जेन–अल्फा) कलेज पढ्दै गरेका (जेन–जी) किशोर, तरुण, युवासम्म जानकारी, भण्डाफोर, छताछुल्ल पुर्याएर नवजागरण उठाउने अभियानका एक सफल नायक दुर्गा प्रसार्ईंबारे थरिथरिका राजनीतिक विश्लेषण, टिकाटिप्पणी, प्रशंसा, गाली सामाजिक सञ्जालमा बाढी झैं आइरहेका भेटिन्छन् ।
यसमा मलाई हाँसो लागेको र अलिकति दिग्दार जस्तो पनि विषय के भने श्याम बस्नेत (८४ पार विज्ञ दावेदार) देखि डा.सुरेन्द्र केसी (राष्ट्रपति, प्रधानमन्त्री, राजदूत, भिसीका लागि सर्वाधिक योग्य दाबी) खेमराज सेढाइँ (कुनै समय कृष्णप्रसाद भट्टराईका विश्वास प्राप्त रहेका दावीले उमेश सुवेदीको ‘चुरोकुरो’ जस्ता युट्युव च्यानलहरूमा प्रत्रकार ऋषि धमला, विजयकुमार पाण्डे जस्तै भाइरल) जस्ता आदि इत्यादिको एउटा जमातले अगिल्लो दिन दुर्गा प्रसार्ईंलाई महाभारतका अर्जुन आम भुइँमान्छेका तारणहार भनेर प्रशंसा फलाकेर न थाक्ने भोलिपल्ट कता के निहित स्वार्थमा ठेस लाग्ने देखेपछि फेरि तिनै महानुभावहरू सौरभ (दिनेश सत्याल) ले बालेनलाई संज्ञा दिएका ‘लुसिफर’ (हाम्रा अम्रित चाखेका राहु, केतु जस्ता) गालीको वर्षा गरेर न थाक्ने । नेपालको राष्ट्रिय राजनीतिलाई जहिलेसुकै पनि विद्रुप, विचारधारा मर्यादाच्यूत, संकटग्रस्त अवस्थामा मलजल भइरहन अनेक फ्याक्टर मध्ये यसखालको पाखण्ड (सोच, समझ, नियत) पनि एउटा हो भन्ने लाग्छ । होइन भने ‘अगिल्लो’ दिनका अर्जुन (देवता) भोलिपल्ट लुसिफर (राक्षस) कसरी सम्भव हुन्छ ।
भदौ २३/२४ जेन–जी पुस्ता नामको नवजागरण क्रान्ति विजारोपण (गर्भाधान) हुनु अघिको पृष्ठभूमिमा त्यसमा राँको बालेर उज्यालो छर्न दुर्गा प्रसाईंले यस कालखण्डमा जति काम गरे त्यसको कुनै तुलना हुन सक्दैन । त्यसमा धेरै गल्ती र सङ्का हुँदाहुँदै पनि पछिल्लो चरणमा आएर रवि लामिछानेको पनि दुर्गाको अभियानमा थप क्षेत्र विस्तारको भूमिका हुन पुग्यो । दुर्गा प्रसाइँको के हो त्यस्तो अरु कसैबाट हुन नसकेको अतुलनीय इतिहासमा आउनु अघि अलिकति रवि लामिछानेका बारेमा आफूले बोल्दै लेख्दै आउने गरेको ठहर टिप्पणी यहाँ पाठ्यक्रममा अभिलेख गर्न चाहन्छु ।
एकजना वरिष्ठ पत्रकार हुनुहुन्छ मेरा जमानाका सहृदयी जुनियर साथी निमकान्त पाण्डे, ‘जनधारणा साप्ताहिक’ युट्युव च्यानलका सम्पादक÷प्रकाशक । म कांग्रेस उहाँ ‘कम्युनिस्ट’ भए पनि ‘प्राण गएको मानिस र विचार हराएको पार्टी एउटै हो–लास’ कुहिएर गन्हाएर रोग फैलाउन थालेका भन्नेमा हाम्रो विचार मिल्छ । त्यसै भएकाले झण्डै तीनदशक भयो मैले उहाँको पत्रकारिता रिपोर्टिङलाई नजिकबाट नियाल्ने गरेको । कांग्रेस भएर ‘हँसिया हथौडा’ र कम्युनिस्ट भएर ‘रुख’ चिह्नमा भोट मागेका मैले जस्तै गगन, शेखर, वर्षमान, जनार्दनलाई वाक्य बस्नेगरी उडाएका पाएको थिएँ । महाकाली सन्धिहुँदा काँग्रेस, एमाले, राप्रपा, सद्भावना (गजेन्द्र नारायण सिंह) का सांसद, मन्त्री, केन्द्रीय सदस्य दुई सय जना बढी क–कस्ले भुक्के चप्पल पड्काएर राजधानी छिरेका महल खडा गरे सिरिज तस्वीर ‘जनधारणा’मा प्रकाशित गरिदिएर निकै वाही वाही कमाएका थिए । ओली सकिँदा १२बुँदेले लादेको ०७२ को संविधान सकिएको अर्थ लाग्ने हुँदा त्यो अर्थलाई जोगाउन प्रायोजित चुनाव लडेर ओलीलाई जीतेको देखाइदिएका ईश्वर पोखरेलको मन्त्री भएका वखत प्रहरीले छापा मारेर पानीटेङ्कीबाट सात करोड रङ्गेहात वरामद प्रमाण पुगेको तस्वीर छाप्ने पहिलो पत्रिका पनि ‘जनधारणा’ नै थियो । त्यसपछि त त्यो समाचार तस्वीर सबै राष्ट्रिय अखबारहरू र मोफसलका अखबारहरूका लागि पनि छ्यापछ्याप्ती व्यानर र व्रेकिङ समाचार बनेको थियो । मन्त्रीको भ्रष्टाचार घुस रकम प्रमाणसहित सार्वजनिक हुँदा त्यस्तो समाचार छापा इलेक्ट्रोनिक मिडियाका लागि ब्यानर र व्रेकिङ बन्नु स्वाभाविक थियो ।
उहाँ नै निमकान्त पाण्डेले आफ्नो ‘जनधारणा’ युट्युव च्यानलमार्फत (माध्यम) रवि लामिछानेमाथि कांग्रेस (गगन थापा टाइप) एमाले (योगेश भट्टराई टाइप) बाट भएको निन्दित र घृणित राजनीति प्रतिशोधको भण्डाफोर आम जनसमक्ष ल्याउन गरेको जाँगर परिश्रमलाई दाद दिनुपर्ने हुन्छ । रवि लामिछाने गृहमन्त्रीहुँदा नक्कली शरणार्थी, मानव तस्करी काण्डका फरार अपराधी वेचन झालाई भारतीय पुलिसको सहयोगमा हिरासतमा लिएर टिकापुर सरकारी जग्गा हडप अभियोगमा आरजु राणा (देउवा पत्नी, समानुपाति सांसद) लाई गिरफ्तारी आदेश भइसकेको छ प्रहरीले घर घेरेको समाचार भाइरल भए पछि अगिल्लो दिन कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनिदिन दसऔँला जोडेर साष्टाङ्ग दण्डवत् गरेर प्रार्थना अनुरोध गरियो । त्यो प्रस्ताव नमानेपछि भोलिपल्ट असार १५ दही चिउरा खानेदिन अन्तरराष्ट्रिय तहका विचौलिया ‘अन्नपूर्ण पोष्ट’ दैनिकका मालिक रामेश्वर थापाको शरणमा लम्पसार परेर १२ बजे राती खड्ग ओलीलाई प्रधानमन्त्री बनाएपछि जेल पुर्याउन भनेको योभन्दा प्रतिशोधको नाङ्गो अनुहार अरु के हुन्छ ? रामेश्वर थापा अन्तरराष्ट्रिय कुन स्तरको विचौलिया भन्ने हाल कि प्रधानमन्त्री सुशीला कार्कीको पहिलो सल्लाहकार नियुक्ति राजनीतिक सल्लाहकार अभयभद्र खनाल रामेश्वर थापाको पत्रिकाका जागिरे कामदार हुन् ।
वेचन झाको बयान छल्न खड्ग ओली प्रधानमन्त्री भएपछि भदौ २३/२४ जेन–जी नवजागरण आँधी आइपुग्नु अघिसम्म रवि लामिछानेलाई जेल पुर्याए सांसद पद खोसेर जुन अमानवीय ढङ्गको राजनीतिक प्रतिशोध साँधियो त्यसको भण्डाफोर जनसमक्ष ल्याउन विद्वान् पत्रकार पाण्डेले जुन तत्परता प्रदर्शन गर्नुभयो, अन्यायका विरोधको आवाजमा एकबद्धता जनाउनु कर्तव्य ठानेर यति हरफ पाठ्यक्रममा ल्याएको हुँ । यद्यपि रवि लामिछाने बारे पंक्तिकारको आफ्नै अध्ययन पद्धति ठहर टिप्पणी छ । जस्ता प्रकारले निर्दलीय पञ्चायती व्यवस्था जान गिनिज बुकमा नाम लेखाएकी नानीमैया दाहाल (अन्तरराष्ट्रिय मिडियाका कभरपृष्ठमा नेपालको नक्सा देखाएर त्यसमा सूर्य उदाइरहेकोमा सूर्यको अनुहार ननीमैयाको) ‘निमित्त नायक’ बनेकी जस्तै नेपाल सिध्याउन लादिएको संघीयता जान रवि लामिछाने ‘निमित्त नायक’ बोल्दै लेख्दै आएको हुँ । निमकान्त पाण्डे जस्ताकै प्रतिशोध विरोधी प्रचार अभियानका कारण पनि हुन सक्छ, जब रविको पक्षमा आम सर्वसाधारण हस्ताक्षर ५८ लाख नाघेको समाचार आयो त अब रवि ‘निमित्त’ बाट ‘नियति’ नायक बन्नथालेका बोलेको लेखेको हुँ । यसभन्दा बढी थप टिप्पणी रिजर्भ रहन चाहन्छु ।
दुर्गा प्रसार्ईंलाई यसकालखण्डको नवजागरण उठाउन अतुलनीय निर्णायक योगदान किन भनेको भने गद्दीच्यूत श्री ५ महाराज ज्ञानेन्द्र विक्रम शाहदेवलाई सार्वजनिक मञ्चमा उभिएर आम जनसमुदाय (लगभग तीन करोड) समक्ष नेपाल र नेपाली बचाउन हार गुहार माग्ने पहिलो अवसर दुर्गा प्रसार्ईंले नै जुराइदिएका हुन् । दुर्गा प्रसार्ईंले जुराइदिएको त्यो अवसर माओवादी हिंसामा १७ हजार मारिएर १० वर्षमा उठेको नवजागरण भन्दा धेरै माथिको भन्ने त्यतिखेर प्रमाणित भयो जतिखेर राजा ज्ञानेन्द्र २५ चैत ०८१ पोखराबाट काठमाडौं आउँदा एयरपोर्ट आसपास जुन जनसागर उर्लियो ०७ साल यताकै इतिहासमा कहिल्यै देखिएको थिएन । कसैकसेले भागेका त्रिभुवन दिल्लीबाट ‘प्रजातन्त्र’ (आज त ‘भारततन्त्र’ भन्ने प्रमाणित भइसकेको छ) लिएर गौचरण (त्रिभुवन) एयरपोर्ट ओर्लँदा जस्तो भनेका छन् । साच्चै भन्ने हो भने राजसंस्था पक्षको त्यो जनसागर उर्लिए यता जति पनि विदेशी स्वार्थ (सीआईए, रअ) का राजनीतिक गतिविधि भइरहेका छन्, पछिल्लो सुशीला कार्की प्रधानमन्त्री भएर ०७२ को संविधानलाई कन्टेनरमा थन्काउँदासम्म राजसंस्था पक्षको त्यही जनसमर्थनलाई निरत्तेज पार्न (लेखेर राख्नुहोस् जनमत संग्रहको नारा पनि त्यही जनशक्तिलाई फुटाएर जुधाउनु हो)मा केन्द्रित छ । यही बुझाइको एउटा नवजागरण गर्भाधान (विजारोपण) थियो गत भदौ २३÷२४ को जेन–जी विद्रोह जनआक्रोश विस्फोट ।
राजा ज्ञानेन्द्रको सार्वजनिक मञ्चबाट जनता गुहार्ने प्रवेशद्वारको मूल ढोका दुर्गा प्रसार्ईं (झापा) ले खोलिदिए पछि देवेन्द्रलाल नेपाली (पर्सा) लगायतका मञ्चहरूबाट महत्वपूर्ण सम्बोधनहरू आए । जस्तो ‘सुनको कचौरा थापेर भिख मागिरहेका छौँ’ ‘स्वदेश फर्क, स्वदेशनै स्वर्ग’ आदि इत्यादि । यो सम्बोधन मध्ये मलाई अत्यन्तै मन छोएको चिमोटेको सम्बोधन थियो– ‘समय आए पछि ढुङ्गो पनि बोल्छ’ ‘र अब समय आएजस्तो छ’ । त्यो सम्बोधन ज्यादै मार्मिक, गम्भीर, निर्णायक आवाज थियो । एकेडेमिले प्रकाशित गरेको नेपाली भाषाको शब्दकोषमा ‘ढुङ्गो बोल्छ’ को परिभाषा यस्तो रहेछ धेरै नै अत्याचार भयो । राष्ट्रघात, जनघात, बेथिति, कुकर्म, अनाचारले सिमा नाघेर असैह्य भएपछि उठ्ने आवाज विस्फोटलाई ‘ढुङ्गो बोलेको’ भनिन्छ ।
शब्दकोषमा उल्लिखित परिभाषित राजा ज्ञानेन्द्रको ‘समय आए पछि ढुङ्गो पनि बोल्छ’ सम्बोधन अन्तत झण्डै एक डेढ वर्षको अन्तरालमा ०८२ भदौ २३/२४ गते अक्षरस चरितार्थ भएको देखियो भोगियो । स्कुल ड्रेसका १९ जना नेपालआमाका भविष्यका कर्णधार सपूत पछाडिबाट टाउको र मुटु ताकेर गोली खाएका (खड्ग ओली र रमेश लेखक) अगिल्लो दिन तीन घण्टा र भोलिपल्ट चार घण्टा मात्र सात घण्टाको अवधीमा ७६ सपुत सहिद हुनु भनेको यसलाई लरतरो ‘ढुङ्गो बोलेको’ परिभाषा गर्न मिल्दैन । सात घण्टामा ७६ जना सहिद जन्मेर राज्यसत्तामा वैदेशिक शक्तिको हुकमत चल्न थाल्नु (पानी बाड्न हिँडेकोले मन्त्री बाड्न थाल्नु) ‘कोतपर्व’ भन्दा विभत्स, दुर्भाग्यपूर्ण ‘ढुङ्गो बोलेको’ हो ।
०७ सालमा राणासत्ता ढल्नुअघि सिंहदरवारको ढोकामा घोडा बौलाएर टाउको कुच्चाएको र धुरीमा गिद्ध बसेको नयनबहादुर खत्री (१० वर्ष प्रधानन्यायाधीश, चार वर्ष चीनको राजदूत र साढे छ वर्ष ‘राष्ट्रिय मानव अधिकार आयोग’ का संस्थापक अध्यक्ष) ले ‘मेरो जीवन यात्रा, अनुभव र अनुभूति’ नामक पुस्तकमा वर्णन ल्याउनु भएको, पुस्तक बजारमा उपलब्ध छ । यसमा मेरो भनाइ के हो भने राणासत्ता जानलाई घोडा बौलाएर सिंहदरवारको फलामको गेटमा टाउको फोरेर मरेको र सिंहदरवारको धुरीमा गिद्ध बसे जस्तै नेपाल सिध्याउन लादिएको ०७२ को संविधान मास्न राजा ज्ञानेन्द्रको ‘ढुङ्गो बोलेको’ हो ।
यसमा राजा ज्ञानेन्द्रलाई मञ्च प्रदान गर्ने दुर्गा प्रसार्ईं, देवेन्द्रलाल नेपालीहरू भ्रमित र दोमन भएर अहिले कता अलमलिइरहेका छन्, यहाँ टिप्पणी आवश्यक परेन ।
अन्त्यमा राजा ज्ञानेन्द्रको ‘ढुङ्गो बोलेको’ अक्षरस चरितार्थ भएको भर्खर ‘गर्भाधान’ (विजारोपण) मात्र हो । उचित स्याहार सम्भार गोडमेल विचार विमर्श (पृथ्वीपथ) भयो भने मात्र प्राकृतिक स्वादको फल खान पाइन्छ । हतार भने नगरौँ । अस्तु ।