सम्भवतः सन्सार भरी नै राष्ट्रिय झन्डा दुरूपयोग गर्नेमा नेपाल पहिलो सूचीमा पर्ला । खासगरी पछिल्ला दिनहरूमा राष्ट्रिय झन्डा ओढेर ठूलाठूला अपराधकर्म गर्ने क्रम बढीनै रहेको छ । ठूला राजनीतिक परिवर्तन गर्छु भन्नेहरूले पनि आफ्नो पहिचान नै यही झन्डालाई बनाउने गरेका छन् । उनीहरूले आह्वान गर्ने जुलुस प्रदर्शनीहरूमा एकजनाका हातमा तीन–चारवटासमेत झन्डा देखिने गरेका छन् । कतिसम्म भने नागरिकहरूका सुरक्षाका लागि खटिएका प्रहीहरूका हातबाट हतियार खोस्ने र त्यही देखाएर हिंसा मच्चाउनेहरूले पनि राष्ट्रिय झन्डा नै ओढ्ने गरेका तस्वीहरू जतातते देखिइरहेकै छन् । गएको चैत्र १५ मा कथित राजावादीहरूको आन्दोलनमा मान्छेलाई ज्यूँदै जलाउने र पसलहरूमा लुटपाट गर्नेहरूले पनि राष्ट्रिय झन्डा नै ओढेका देखिन्थे । तिनका तोडफेडमा त्यसदिन झन्डै एक अर्बकै सम्पत्ति नष्ट भएका विवरणहरू प्रकट भइरहेका छन् । पछिल्लो जेन–जी आन्दोलनका क्रममा जेजस्ता आगजनीहरू भए ती सबैले राष्ट्रिय झन्डा ओढेका चित्रहरू अहिले पनि आइरहेकै छन् । यो क्रममा जेजस्ता आगजनीहरू भए तिनबाट भएको राष्ट्रिय सम्पत्तिको क्षति अपूरणीय नै छ । अहिले सरकारले गराएको अध्ययनमा एक खर्बभन्दा बढीको क्षति भएको छ ।
यसले के देखाइरहेको छ भने राष्ट्रिय झन्डा ओढेपछि जे पनि गर्न र भन्न पाइन्छ भन्ने बुझाइ स्थापित हँुदै गइरहेको छ । त्यसैकारण राष्ट्रिय झन्डाको चरम रूपको दुरूपयोग भइरहेको मान्नुपर्छ । झन् पछिल्लो समयमा त दल खोल्ने र त्यसमा आफ्नो साटो राष्ट्रिय झन्डालाई आफ्नो पनि झन्डा मान्ने प्रचलन बढ्दै गएको देखिन्छ । आउँदो चुनावमा सबभन्दा ठूलो दल बन्ने घोषणाका साथ नयाँ खुलेको एउटा दलले आफ्नो झन्डाका ठाउँमा आफ्नो भनेर राष्ट्रिय झन्डा प्रयोग गरिरहेको देखिन्छ । त्यसैकारण पनि राष्ट्रिय झन्डाको दुरूपयोग रोक्न आह्वान नै गर्नुृपरेको हो । यसैकारण होला निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार दल तथा उम्मेदवारले कार्यालयबाहेक सार्वजनिक स्थानमा कुनै डिजिटल बोर्ड, झन्डा वा चिह्न राख्न नपाउने व्यवस्था गरको होला । यसमा चुनावमा भाग लिने राजनीतिक दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसारका लागि आफ्नो कार्यालय बाहेकका स्थानमा कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न नपाउने भनेर सूचना प्रवाह गरिहेको छ । त्यसमा कसैको निजी घरजग्गा वा सार्वजनिक भवन, उद्यान, सडकका भित्ता वा पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने निर्वाचन आचारसंहितामा लेखिएको छ । राष्ट्रिय झन्डाको प्रयोग पनि यसैभित्र पर्छ ।
आयोगले जारी गरेको प्रतिनिधिसभा निर्वाचन लक्षित आचारसंहितामा राष्ट्रिय झन्डा प्रयोगमा नियन्त्रण गरेको देखिएको छ । त्यसमा कुनैपनि दलका आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा मात्रै राष्ट्रिय झन्डाको प्रयोग गर्न पाइनेछ । यसको पालना भने कुन प्रकारले होला भन्ने आमजिज्ञासा त छँदैछ । सबै दलका चुनावी प्रचारलाई सभ्य र अनुशासित बनाउन आयोगले प्रस्ताव गरेका विभिन्न प्रावधानको अर्थात् खासगरी राष्ट्रिय झन्डाका बारे त्यसको प्रयोगमा उल्लङ्घन भएको पाइए सम्बन्धित दलमाथि ठाउँको ठाउँ नै कारबाही हुने व्यवस्था गरिए यस्तो प्रावधानको सही मात्रामा प्रयोग हुने थियो होला । सम्बन्धित दल वा स्वतन्त्र उम्मेदवार सबैले यो प्रावधानको अनुकरणलाई कडा बनाइनुपर्छ । अनि मात्र राष्ट्रिय झन्डाको आडमा गरिने अपराधिक कार्यमा कमी आउन सक्तछ । यो काम आचार संहितामा लेखेरमात्र रोकिने कुरा होइन । यो संहितामा झन्डाका बारे भनिएको छ, दलको कार्यालयमा मात्र साइनबोर्ड तथा कपडामा बनाइएको तीन फिट चौडा र चार फिट लामो कपडामा दलको झन्डा र सोही नापको चुनाव चिह्नबाहेक अन्य सामाग्री राख्न नपाइने छैन । दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अङ्कित लोगो, स्टिकर, कपडा, टोपी, क्याप, भेस्ट, टिसर्ट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट वा झोला वितरण तथा प्रयोगमा रोक लगाइएको छ । त्यसमा राष्ट्रिय झन्डा पनि पर्नुपर्छ ।