काठमाडौं । ‘लौरो’ भन्नाले काठमाडौँका मेयर वालेन शाह र ‘घण्टी’ भन्नाले रास्वपाका अध्यक्ष रवि लामिछाने बुझिन्छ । प्रधानमन्त्री सुशीला कार्की ‘जेन–जीले पनि छाड भन्छन्, पार्टीले पनि छाड भन्छन्’ भन्दै आँशु झरेको देखाएरै सामाजिक सन्जालमा रुन थालेकि भेटिएपछि प्रधानमन्त्री विकल्प दिन लौरो र घण्टीले सात बुँदे भागबण्डा हस्ताक्षर गरेका व्यानर र व्रेकिङ समाचार दिन ऋषि धमला विजयकुमार पाण्डे (गुरु चेला) जस्ता सेलीव्रेटी पत्रकारहरूलाई भ्याइ नभ्याइ भइरहेको छ । टिकाराम यात्री जस्तो छट्ट र प्रदिप माझी जस्तो साधु आदि इत्यादि पत्रकारहरूलाई सात बुँदे हस्ताक्षरको शिर–पुच्छर छुट्याउन हम्मेहम्मे परिरहेको पनि देखिरहेको छु ।भूराजनीतिक चपेटाको जेन–जी नवजागरण गर्भाधान विजारोपण (इतिहासमा पहिलोपटक चीन–भारत नेपाल सन्दर्भमा एक ठाउँमा ०७ सालदेखिको नेहरू डक्ट्रिन खारेज) पुष्ठभूमिमा काँग्रेस, एमाले, माओवादी, राप्रपा, मधेशवादी आदि इत्यादि दलहरूका प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र नामको लुटतन्त्र देश बेचेका (लिपुलेक, लिपियाधुरा, कालापानी भारतको नक्शाभित्र) मानव तस्करी गरेका (‘अब यिनीहरूले नेपालीका छाला काढेर सुकाएर बेच्नमात्र बाँकी छ’ भन्ने प्रधानमन्त्री सुशीला कार्कीको कथन)देखि अनगिन्ती हज्जारौँ राष्ट्रिय सम्पत्ति हडप, लुट, भ्रष्टाचार, तस्करी काण्डहरूको प्रतिफल प्रतिक्रियामा देखा परेका लौरो, घण्टी आदि इत्यादिले भावी प्रधानमन्त्रीका लागि भागबण्डा हस्ताक्षर गर्नु भनेको तथ्यमा केटाकेटीले घर आँगनमा ‘भाँडाकुटी’ खेलेर भात पकाएका भन्दा एक रौँ भर पनि कुनै अर्थ नराख्ने आउँदा दिनहरूमा छर्लङ्ग भइहाल्छ । दयापूर्वक यहाँ यति भन्न सकिन्छ– ‘विचरा लौरो, विचरा घण्टी’। हाम्रो समयले खोजेको नवजागरण विजारोपण गर्न लौरो र घण्टीको पनि एकहदसम्म योगदान रहेको मान्न पंक्तिकारलाई कुनै आपत्ति छैन । तर विकल्पकै अपेक्षा राख्नु भनेको चाहिँ विषवृक्षको फल खाएर तड्पिनु जस्तो मात्र हुने निश्चित छ । ८३ प्रतिशत विदेश निर्भर आयातबाट गाँस, बास, कपास विहान बेलुका छाक गुजारा जन्मिदै ३० खर्ब बढी वैदेशिक ऋण आर्थिक रूपले हरिकङ्गाल स्वाभिमान सार्वभौमिकता टाट पल्टेको पृष्ठभूमिमा मात्र ११ घण्टा (२३÷२४ भदौ)को जेन–जी नामको डढेलो हुरी (नवजागरण उमार्न मल खाद) ले ७६ जना सपूतलाई सहिद बनाएर (रगतको होली) चारखर्ब बढी (प्रारम्भिक तथ्याङ्क) राष्ट्रिय सम्पत्ति खरानी भएर उड्नु भनेको कुनै पनि हालतमा इतिहासलाई माफ गर्न छुट हुन्न । सारी, घडी, साइकल, मासुभातको चुनावबाट लादिएको विघटित संघीय संसदमा सबैभन्दा ठूलो दलको प्रमाणपत्र पाएको नेपाली काँग्रेसकै कुरो लिउँ । हिजो सभापति शेरबहादुर देउवाले प्रचण्डसँग चुनावी गठबन्धन गरेर ‘हँसिया हथौडा’मा भोट माग्दा ‘अर्को विकल्पै थिएन’ भन्दै बाख्रापालनबाट भुँडी भर्दै भावी प्रधानमन्त्रीको गफ चुट्न लाज नमान्ने महामन्त्री (जागिर) गगन थापा र ‘काँग्रेस एमाले मिलेर सरकार चलाउन प्रस्ताव गर्ने मै हुँ’ भन्दै भावी सभापतिको हुँकार गर्ने वरिष्ठ नेता (विर्ता) शेखर कोइराला आज काँग्रेस भित्रका देउवा विकल्प भनेर युटुवहरू फलाकीरहेका पाउँदा एकप्रकारले हाँसो उठ्ने र अर्को प्रकारले काँग्रेसमा कुन स्तरको नेता हावी (खलास) भइरहेको भन्ने दिग्दारी जस्तो पनि हुन्छ । (दिग्दारीको इतिहासमा यहाँ जान्न) कृष्णप्रसाद भट्टराई लखेटिए पछि यता गिरजाको ‘विर्ता’ देउवाको ‘जमिन्दारी’ रामचन्द्रको ‘प्राइभेट लिमिटेड’ (छोराको लण्डनमा चारवटा घर छोरीलाई समानुपातिक सांसद) कृष्ण सिटौला गगन थापाहरूको ‘जागिर’मा रूपान्तरण भएको काँग्रेस यतिखेर ८÷९ लाख भनिएका कमारा कमारी (क्रियाशिल सदस्य)को गोठचरन भएको प्रष्ट छ । काँग्रेसका आठ लाख ९नौ लाख भनिएका क्रियाशील सदस्य दास मानसिकता (कविलायी चेतना)बाट माथि उठेर नोकर चेतनामा नपुगेका दिनसम्म राजनीतिक दलको मान्यता दिन मिल्दैन । विर्ता, जमिन्दारी, प्राइभेट लिमिटेड र जागिरलाई राजनीतिक दलको मान्यता दिनु दास मानसिकतालाई मात्र सम्भव हुन्छ । दास र नोकरबीचको फरकबारे एसियाका माक्र्स भनेर संसारभरिका विश्वविद्यालयमा पढाइ हुने भारतीय समाजवादी आन्दोलनका प्रखर चिन्तक डा. राममनोहर लोहिया (बीपीका रोडमोडल) को वडो सरल भरिभाषा छ । ‘नोकरले मालिक बदल्न सक्छ, तर दासले सक्दैन’ मालिक बदल्नसक्नु भनेको असल मालिक र गलत मालिकबीचको फरक छुट्याउने विकसित हुनु हो जुन चेतनाले नोकर कालक्रममा मालिक पनि बन्न सक्छ ।महाभारत विजयको मूल अस्त्र सुदर्शन चक्र भनेजस्तै हाम्रो राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संकट समाधान (विजय)को मूल अस्त्र आम जनसमुदायको चेतना (जागरण) नै हो । जबसम्म हाम्रो आम जागरण चेतना ठिक मापन भएर प्रयत्नहरू अघि सारिँदैन तबसम्म कुनै पनि प्रयत्न फलिभूत हुन्न । यो प्राकृतिक यथार्थ हो । हाम्रो वर्तमान आम जागरण चेतना कुन स्तरको छ भन्ने एउटा मापन पाठ्यक्रम अलिकति वर्णन गरेर अभिष्ठ शीर्षकमा आउँछु । यस सन्दर्भमा एकजना युट्युवका भाइरल र युट्युवबाहिर पनि एउटा इतिहासको लिगेसी राख्ने दुई अक्षर पढेकामाझ सर्व परिचित विद्वान् व्यक्तित्व हुनुहुन्छ– दिपक ज्ञवाली । व्यक्तिगत चिनाजानीमा एक दुई जम्काभेट (एउटै कारमा यात्रा)को कुनै अर्थ रहँदैन । म उहाँलाई राजा महेन्द्रले वि.सं. २०२८ साल बीपी भारत निर्वासनबाट देशभित्र आउने संविधान मस्यौदा ड्राफ्ट गर्न खटाइएका तत्कालीन गृहपञ्चायत कानुन र न्यायमन्त्री शम्भुप्रसाद ज्ञवालीका सुपुत्रका रूपमा चिन्दछु । शम्भु ज्ञवालीसँग मेरो पनि भेटवार्ता भलाकुसारी हुँदा नै थाहा पाएको सूर्यप्रसाद उपाध्याय, ऋषिकेश शाह, श्रीभद्र शर्मासँग सल्लाह लिन सकिने तर सूर्यबहादुर थापा, तुलसी गिरि, विश्वबन्धु थापालाई भने कुनै पनि हालतमा मस्यौदाको सुइको नदिनु भन्ने राजाको कडा हिदायत थियो । आखिर त्यही संविधान जारी गर्ने मिति तोकेको १९ घण्टा अघि नै महेन्द्रको मृत्यु (अब त हत्या भन्ने सबै दसी प्रमाण जुटीसकेका र त्यो हत्यामा को को संलग्न भन्ने पनि रुजु भइसकेको छ । त्यो हत्याको अर्को कारण १५ पहाडी जिल्लाका १७ ठाउँमा गाडिएका भारतीय सैनिक क्याम्प उखेल्नु पनि थियो) भयो । राजा महेन्द्रको त्यही हत्या षडयन्त्रबाट राष्ट्रिय राजनीति पछाडि धकेलिन थालेको हो । आजको स्वाभिमान र सार्वभौमिकता सङ्कटको सुरुवात पनि त्यहीबाट प्रारम्भ भएको हो । यसैकारण दिपकजीलाई मैँले एउटा इतिहासको लिगेसी पनि राख्ने विद्वान् भनेको हुँ ।राजा महेन्द्रका दाहिना हात राजनीतिक सल्लाहकार ५÷७ वटा मन्त्रालय पनि सम्हालेका परिवारमा जन्मेका हुर्केका भनेपछि वालककाल, पढाइलेखाइ सुविधा संस्कार उच्चकोटीको क्वालिटिकै पाउनु भयो । रुसबाट इन्जिनियरमा डिग्री लिइसकेपछि अक्सफोर्डमा पढ्ने पढाउने दिनचर्या साथीसङ्गति पनि अन्तरराष्ट्रिय स्तरकै हुने स्वाभाविक हो । जलश्रोत विज्ञका रूपमा राजा ज्ञानेन्द्रले मन्त्री बनाउन भ्याएका भए पनि आज पूर्वमन्त्रीको चिनारी देश, जनता, प्रणालीका लागि जुन गाली, अवगाल, राष्ट्रघाती, जनघाती छ, त्यसमा राखेर हेर्न दिपक ज्ञवालीलाई मिल्दैन भन्न ढुक्कले सक्छु । दिपक ज्ञवालीवारे यहाँ यति उल्लेख किन आवश्यक भएको भने उहाँले नै पहिलो पटक नेपाली चेतना जागरणको स्तर मापन पाठ्यक्रम उपलब्ध गराउनु भएको हो । दुई अक्षर पढेका हरेक नेपालीले दिपक ज्ञवालले उपलब्ध गराउनु भएको त्यो पाठ्यक्रम मनन गर्नु आवश्यक भन्ने पङ्क्तिकारको सल्लाह हो । जेन–जी, जेन–अल्फा या त्यसपछि आइरहने पुस्ताहरूलाई विकास र उन्नतिका पथमा अगाडि बढ्नका लागि आम चेतना जागरण नवजागरणको जानकारी हुनु अपरिहार्य हुन्छ ।संयुक्त राष्ट्रसंघीयस्तरको उहाँ सम्मिलित १२÷१५ जना अमेरिका, रुस, वेलायत, फ्रान्स, नर्वे, डेनमार्क आदि इत्यादि मुलुकका विज्ञहरू (शोधकर्ता पीएचडी)को एउटा टोली छ । त्यस टोलीले स्वायत्त स्वतन्त्ररूपमा कुनै पनि विषयमा कुनै पनि देशमा अनुसन्धान (सर्वे) गरेर तथ्य पाठ्यक्रम उपलब्ध गराउँछ । ज्ञवालीका अनुसार त्यस अध्ययन (शोध÷सर्वे) पङ्क्तिमा तथ्य उजगार गर्नुभन्दा अरु कुनै वाद, विचारधारा, आग्रह पूर्वाग्रह हुन्न । त्यस्तै एउटा अध्ययन भएको रहेछ युरोप र एसिया अफ्रिकाको आम जागरण (चेतना) स्तरमा कति फरक (अन्तर) छ ? र निकै परिश्रमपूर्ण लामै समय (वर्षौँ) लगाएर गरिएको सर्वे अध्ययनअनुसार एसिया अफ्रिकाको आम जागरण युरोपको भन्दा दुई शताब्दीपछाडि छ । अर्थात् हामी २१औँ शताब्दीमा आइपुग्दा १९औंँ शताब्दीकै चेतना जागरणमा अलमलिइरहेका छौँ । यसैलाई मैले दासमानसिकता कविलायी चेतना भन्ने गरेको हुँ । अर्थात् अझै हाम्रो आम मतदाता जागरण असल खराब उम्मेदवार छुट्याउन सक्ने अवस्थामा पुग्न सकेका छैनौँ । त्यसको जीवित प्रमाण जनता लुटेर देश बेचेका दसी, प्रमाण, साक्षी मध्यान्हको बादल हटेको घाम जत्तिकै छर्लङ्ग हुँदाहुँदै पनि तिनैलाई आफ्नो अमूल्य भोट दिएर सांसद, मन्त्री, प्रधानमन्त्री बनाइरहेका छौँ । बालेन शाह (लौरो)लाई प्रधानमन्त्री उम्मेदवार अघिसार्न रवि लामिछाने (घण्टी) बाध्य भएका उनीमाथि अदालतमा झुण्डिएका मुद्दाहरू भन्ने ऋषि धमला विजयकुमार पाण्डे आदि इत्यादि (भाइरल) पत्रकारहरूका समाचार टिप्पणी छन् । कुखुराले, बाख्राले, स्यालले मोर्चा गरेर बाघको शिकार हुन्छ ? भन्ने खड्ग ओलीको प्रश्नको भने अहिलेसम्म कतैबाट उत्तर आएको पाइएको छैन । र एमाले महाधिवेशनमा खड्ग ओलीको जीत र रवि लामिछानेको जेल रिहाइ ठ्याक्कै एउटै समय पर्नु ‘नियत’ कि ‘नियति’ विस्तारै खुल्दै जाला ।उही संविधान, उही चुनाव प्रणाली (समानुपातिक)मा ‘घण्टी’ र ‘लौरो’को भावी प्रधानमन्त्रीको नाराले ‘रुख’ र ‘सूर्य’ले अहिलेसम्म मच्चाएका लुटतन्त्र राष्ट्रघातलाई चुनौति हुने व्याख्या र विश्लेषण कविलायी चेतना दास मानसिकताबाट माथि उठ्न नसकेका मतदाताका हकमा त सम्भावना लाग्ला । तर गत भाद्र २३÷२४ को जेन–जी आन्दोलनका नाममा विजारोपण गर्भाधान भएको नवजागरणको उज्यालो उदाएपछि भने उल्लिखित भावी प्रधानमन्त्रीको दावी ‘केटाकेटीको भाँडाकुटी खेल’ भन्दा अरु कुनै अर्थ नराख्ने पक्का छ । जबसम्म नेपाल सिध्याउने षडयन्त्र (नेहरू डक्ट्रीन सोनिया काँग्रेस) लादिएको ०७२ को संविधान अन्त्येष्ठी भएर दोहोरो शिक्षा प्रणालीको अन्त्य गरेर नेपाल भारत खुला सीमामा राहदानी व्यवस्था लागू गरी सम्पूर्ण आर्थिक नीति कृषि प्रणालीमा केन्द्रित गरेर कमसेकम गाँस, बास, कपास (विहान बेलुकाको छाक)मा आत्मनिर्भर हुने बाटोमा अगाडि नबढेसम्म अरु कुनै नारा र प्रयत्नको ‘केटाकेटीको गुलेली खेल मट्याङ्ग्राको नास’ भन्दा अर्को कुनै अर्थ र औचित्य हुने छैन ।अन्त्यमा एउटा सुखद् समाचार बीबीसी खबरअनुसार ०७२ को संविधानका मलामी घाटतर्फ कुच गरेका ५०÷५० को भागबण्डामा काँग्रेस एमाले चुनावी तयारी गरिरहेका छन् । अस्तु ।