पद, पत्नी र पैसाभन्दा भाँडमा जाओस् देश, जनता, प्रणाली र पार्टी भन्ने सिद्धान्त, विचारधारा, आदर्श र राजनीतिक दिनचर्या बनाएका गिरिजा लिगेसीको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका एआई उत्तराधिकार पूर्णबहादुर खड्का, शेखर कोइराला, कृष्ण सिटौला, गगन थापा, विश्वप्रकाश शर्मालगायत आदि इत्यादि पदाधिकारीहरू यतिखेर ‘नियमित महाधिवेशन’ कि ‘विशेष महाधिवेशन’ भन्ने कलह रडाकोको नौ फिट गहिरो खाडल खनेर त्यसमा हाम फालेका छन् । नौ फिट गहिरो खाल्डोको तथ्य के हो भने त्यसमा हाम फालिसकेपछि बाहिर निस्किन आफ्नै प्रयत्नले मात्र सम्भव हुन्न, अरुले हात दिनुपर्ने हुन्छ । यसको पछिल्लो उदाहरणका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले छोरी (देश बेचेर जनता लुटेर छोराको लण्डनमा चारवटा घर– डा.प्रेम घा मगर) पूर्व राष्ट्रपति रामवरण यादवले छोरो (राजधानीमा आफ्नो बंगला भाडामा लगाएर राष्ट्रिय ढुकुटीबाट मासिक दुई लाख घर भाडालगायत दशथरिका सुविधा) बलबहादुर केसीले श्रीमती र बहिनी, विमलेन्द्र निधीले भान्जी र यस्ता नाताहरूलगायत अरु किनबेचका समानुपातिक सांसद प्रस्ताव गरेकालाई लिन सकिन्छ ।
दुनीयाभरिका गिरिजा उताको काँग्रेस (सुवर्ण, बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधी, सि.के.प्रशाई, भिमबहादुर तामाङ आदि इत्यादिका संघर्ष, निष्ठा र विचारधाराको लिगेसी)का शुभचिन्तक, दास मानसिकताबाट माथि उठेका बौद्धिक जमात या जर्ज सोराजको फन्डिङ पचाउँन नपाएका मिडियाजगत र नागरिक समाजका अगुवाहरूले, ‘हेर हेर ! सर्वाङ्ग नाङ्गिएर लाज पचाएको काँग्रेस’ भनेर छि छि र दुर् दुर् निन्दा र घृणा गरिरहेका छन् । खासगरी बीपीको जन्मजयन्तिका दिन भदौ २४ (वि.सं. २०८२) गते सभापति शेरबहादुर देउवा दम्पतिले कुटाइ खाएर घर (दरवार)सँगै अनुमानित सात अर्ब नेरु, भारु, डलर खरानी भए यता प्राधिकार काँग्रेसजन ‘बिग्रेको मान्छेको भत्केको घर, भत्केपछि के को डर’ भन्ने मनस्थितिमा पुगेर लाज पचाएर ससुरा, स्वास्नी, छोरा–छोरी, भाई, भतिजा, भान्जा, भान्जी, प्रेमिका आदि इत्यादी र मोल भाउका समानुपातिक सांसद प्रस्ताव गर्न पुगेका प्रष्ट भन्न सकिन्छ । र यस्तो काँग्रेस (एमाले, माओवादी, राप्रपा, रास्वपा, मधेशवादी आदि दलहरू)ले देश, जनता, प्रणाली र पार्टी हितको राजनीति गरेको भाषण ठोक्नु योभन्दा भद्दा निकृष्ट मजाक, ठट्टा र ढाँट अरु के हुनसक्छ । कविलाई चेतना र दाश मानसिकताले टाउको हल्लाउने अर्कै कुरो हो ।
पुस महिनाका दुईवटा मिति १३ र १६ गते मेरा हकमा अत्यन्तै अविस्मरणीय अर्थपूर्ण छन् । वि.सं. २०३० साल मेरो गिरफ्तारी हुँदा पुष १३ गते परेको थियो । काठमाडौँमा त्यतिखेर आजको जस्तो सिमण्टीको जंगल व्यापक भइसकेको थिएन । आजको तुलनामा जाडोको मौसम धेरै कठोर मारक हुन्थ्यो । हनुमान ढोकाको डीएसपी कार्यालयको पुलिसले हतार हतारमा पिसाब फेर्ने गरेको कोठामा मलाई राखिएको, राखिएको के भनौँ फालिएको थियो । कोठाको एउटा परेवा छिर्ने प्वालबाट दिन रात छुट्याउन सकिनेबाहेक पुरै अँध्यारोको सम्राज्य हुन्थ्यो । पुलिसको पिसाबले छिपे छिपे भुइँ बस्न सम्भव हुन्न थियो । भित्तामा अडेस लागेर जीउ जोगाउँन खोज्दा पाँच मिनेटको अन्तरालमा भित्ता हिउँजस्तो चिसोले डामेर खप्न सम्भव हुन्न थियो र ठिङ्ग उभिएर दिनरात बिताउनु पर्दथ्यो । गिरफ्तारीको क्रममा पुलिसको छिना झपटी लछार पछारमा जुत्ता कता उछिट्टिएर पैतालामा मोजामात्र जोगिएको थियो । यसरी ३३ दिन बितेपछि १३ वर्ष सुरक्षा कानुनअन्तर्गत जेल बस्नुभएका मार्सल जुलुम शाक्यलाई पुर्जी थप्न डीएसपी कार्यालय ल्याउँदा मेरो त्यो हालत उहाँलाई थाहा भएछ र हल्ला गर्नुभएपछि एउटा गुन्द्री र कम्मल पाएँ । त्यसरी गुन्द्री र कम्मल पाउँदा मलाई त्यतिखेर यति धेरै आनन्द र सुखानभूति भएको थियो कि अहिले बयान गरेर साध्यै छैन । पछि थाहा पाएँ, नक्खुको ओरालोमा मारिएका ओखलढुङ्गाका चार सहिदलाई पनि त्यही कोठामा मलाई जसरी नै राखिएको रहेछ । बीपीको वि.सं. २०३३ साल पुष १६ गते मेलमिलाप नीति लिएर देशभित्र आउनुभएको छ महिना अन्तरको फ्याक्टरले नक्खुको ओरालोमा मारिएका चार सहिदमा पाँचौँ हुन नपाएको रहेछु । यसै ऐतिहासिक तथ्यका आधारमा काँग्रेसभित्रका बौद्धिक व्यक्तित्व प्रदिप गिरिले आफ्ना बोलीबचन लेख भाषणहरूमा मलाई ‘जिउँदो सहिद’ सम्बोधन गर्ने गर्नुभएको रहेछ । यसमा ‘बीपी मेलमिलाप र पंक्तिकार’ शिर्षकका धेरै अध्यायहरू छन् जसलाई आगामी दिनहरूमा जेन–जी, जेन अल्फा र त्यसपछि आउने पुस्ताहरूलाई काम लाग्ने हिसाबले क्रमशः पाठ्यक्रम अभिलेख गर्दै जाने नै छु । यहाँ यति वर्णन ल्याएको चाहिँ काँग्रेस बारेका मेरा यी हरफहरूका लिगेसी र आधिकारिकताको प्रमाणका लागि हो ।
पुष १६ गते काँग्रेसले मेलमिलाप दिवसको स्मृतिमा झाराटार्ने शैलीका पार्टी कार्यालयमा सिमित भाषणबाजी गर्दैआएको मा गणतन्त्रमा जाने निर्णय गरेर हसियाँ हथौडा चुनाव चिह्नमा भोट माग्न थालेपछि विधिवत् रूपमै अर्थवत्ता गुमाइसकेको हो । तैपनि आउँदो दास मानसिकताबाट माथि उठ्ने पुस्तालाई सूत्र रुपको तथ्य इतिहास अभिलेख गरेर नियमित अधिवेशन कि विशेष अधिवेशन भन्ने एक सिक्काका दुइ पाटा नौ फिट गहिरो खाल्डोमा आउँछु ।
भारतको तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी (नेहरू डक्ट्रिन)ले ‘सिक्किम विलयको लगत्तै पछि नेपालको तराई भाग भारतमा गाभ्नु’ भन्ने सेनालाई दिएको लिखित निर्देशन (एक मधेश एक प्रदेश संघीयताको गर्भाधान) सीआईएमार्फत राजा वीरेन्द्र र बीपीलाई सूचना भयो । त्यसैको प्रतिक्रियामा राजा वीरेन्द्रको ‘शान्तिक्षेत्र प्रस्ताव’ र बीपीको ‘मेलमिलाप नीति’ आएको थियो । यसै तथ्यको आधारमा मैले ‘शान्तिक्षेत्र र मेलमिलाप एक सिक्काका दुई पाटा’ बोल्ने लेख्ने गरेको हुँ । त्यसबखत इन्दिरा गान्धीले जगजीवनराम (तत्कालिन इन्दिरा काँग्रेसका ठूला नेता)लाई पठाएर लेण्डुप दोर्जे (भारतमा सिक्किम विलयको खलनायक) बन्न तयार भए । आजीवन प्रधानमन्त्री प्रस्ताव गरेका स्वयं बीपीले आफ्नो ‘आत्म वृतान्त’ (चर्चित वकिल गणेशराज शर्माद्वारा सम्पादित पुस्तक)मा विस्तार पूर्वक खुलासा गर्नुभएको छ । त्यसवखत बीपी देशभित्र आउँनलाग्दा सूर्यबहादुर थापा (इन्दिराको कारिन्दा)ले ‘फाँसी दिनुपर्छ’ भनेर स्याल हुँयीया मच्चाएका साक्षी भएकै कारण ‘रअ’लाई चाकरी पु¥याउन देउवा र रामचन्द्रले सूर्यबहादुर थापाका छोरा सुनिल थापालाई देउवा काँग्रेसको केन्द्रीय नेतृत्वमा ल्याएर अहिले राष्ट्रिय सभाको सांसद निर्विरोध चयन भइसकेका छन् । नेपाली मतदाता कवीलायी चेतना दास मानसिकताबाट माथि उठेका दिन यसको हिसाबकिताब ब्याजसहित चुक्ता हुने पंक्तिकारलाई पूर्ण विश्वास छ । ढिलो चाँडो मात्र हो ‘पापको श्राप र धर्मको आशीर्वाद अनिवार्य’ भन्ने गीता वचन छ ।
अब आउँ गिरिजा लिगेसी (लोकतन्त्र नामको लुटतन्त्र राष्ट्रघात टनकपुर महाकाली सन्धी)को देउवा काँग्रेसका एआई उत्तराधिकारहरूको नियमित महाधिवेशन कि विशेष महाधिवेशन रडाको नौ फिट गहिरो खाल्डो ‘एक सिक्काका दुई पाटा’ प्रस्तुत विषयमा । यसमा यहाँ सरल रुपमा बुझ्न र बुझाउन प्रतिक उदाहरणका रुपमा दुई नाम (१) ओमकार प्रसाद श्रेष्ठ (८० पार) र (२) अर्जुन नरसिंह के.सी.(७८) अघिसार्छ । यी दुवै नामले मलाई राम्रोसँग चिन्दछन् र मैले पनि राम्रोसँग चिन्दछु । अहिले नचिने जस्तो गर्नु शायद मौलिक सोच, समझ, नियत, चरित्र र प्रवृत्ति हो ।
(१) अर्जुन नरसिंह के.सी. मभन्दा आठ वर्ष जेठा निर्दलीय पञ्चायती व्यवस्थामा सूर्यबहादुर थापाको मन्त्री परिषद्मा सदस्य भएर ०४६ सालको आन्दोलनको घोषणा हुने गणेशमान निवास चाक्सीवारीमा आयोजित काँग्रेस भेलामा सहभागी हुन आएका भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरलाई ढुङ्गा हानेका (गगन थापाका पारिवारिक हिसाबले ससुरा, राजनीतिक हिसाबले गुरु) त्यतिखेरको सोच समझले मैले विरोध गरेको भए पनि अहिले मलाई त्यसमा कुनै आग्रह पूर्वाग्रह छैन । राष्ट्रियताको सवालमा नै केसीको त्यो चन्द्रशेखर माथिको ढुङ्गा प्रहार थियो भन्ने आजको परिणाम (गिरिजा र प्रचण्डको जन्म)ले सबै छर्लङ्ग भइसकेकै छ । जस्ता प्रकारले ०७ सालको परिवर्तनमा राजा त्रिभूवनसँग नाम जोडिएर काँग्रेसको जनाधार निर्माण भएको थियो त्यसैगरी ०४६ सालको बहुदल आगमन (भारततन्त्र)मा काँग्रेससँग नाम जोडिएर कम्यूनिष्ट (मदन भण्डारी)को जनाधार निर्माण भएको सहमति विमतिभन्दा पनि तथ्य हो । अहिले आएर समानुपातिकको सांसद बन्न खोज्दा गगन थापाका ससुरा भनेर जेन–जी पुस्ताका पत्रकारहरूले हल्ला मच्चाउनुको म चाहिँ कुनै अर्थ देख्दिन । उमेरका हिसाबले मभन्दा जेठा भए पनि काँग्रेस इतिहासका दृष्टिले मैले सिनियर मान्नु पर्दैन । विद्यार्थीकालमा नेविसंघ भए पनि काँग्रेस भएका चाहिँ बहुदल आइसकेपछि हो ।
(२) ओमकार प्रसाद श्रेष्ठ उमेरका हिसाबले अर्जुनभन्दा जेठा काँग्रेस इतिहासका दृष्टिले पनि मभन्दा लामै समयले सिनियर (अग्रज) हुन् । सुवर्ण शमशेरको १८ सालको क्रान्तिमा होमिएर १४ वर्ष जेल बसेका पार्टी इतिहासका लागि ठूलै संघर्ष हो । त्याग, तपस्या र साधना हो । मैले थाहा पाएसम्म मार्सलजुलुमलाई जस्तै पार्टी (काँग्रेस)लाई धोका दिन तयार भएका भए जेलबाट छोडिदिने प्रस्ताव पनि आएको थियो । यसैलाई मैले त्याग, तपस्या र साधना भनेको हुँ । आफ्नो १४ वर्ष जेल बसेको इतिहासलाई अवमुल्यन गर्दै निर्दलीय पञ्चायतको स्थानीय तहको निर्वाचनमा पाटन नगरपालिकाको मेयर पदमा चुनाव लडेर हारेका त्यो पार्टी लाइनअनुसार नै भएकाले व्यक्तिगत स्तरको आदर्श र नैतिकतामा मात्र चुकेका मेरो टिप्पणी रहने गर्दथ्यो । ०४२ सालको सत्याग्रहमा नक्खु कारागारमा तीन महिनासँगै संगत भएको (मेरो पनि त्यसवखत सात वर्ष जेल बसिसकेको अनुभव थियो) दाजुभाई जस्तो घरमा आवतजावत पनि भइरहेका नाताले आदर भाव सम्मान गर्दै आइरहेको हुँ र अहिले पनि कुनै अनादर भाव छैन । बहुदल आएर मन्त्री भइसकेपछि र मन्त्री हुनुअघिको शेरबहादुर र रामचन्द्रका बारेमा थाहा भएजस्तै सबै राम्रैसँग जान्दछु ।
नेपाली काँग्रेसभित्रका यी दुई घाघडान र बुद्धिमान हस्ती ओमकार र अर्जुनबारे यहाँ यति चर्चा चिनारी ल्याउँन किन आवश्यक भयो भने हाल आम काँग्रेसीमाझ चलिरहेको विशेष महाधिवेशनको सन्दर्भलाई वि.सं. २०१४ साल जेठ १० गते विराटनगरमा सम्पन्न विशेष महाधिवेशनसँग जोडेर व्याख्या गरिरहेका भेटिएर हो । ऐतिहासिक दृष्टिले यस्तो तुलना राजनीतिक हिसाबको ढाट, छल, बेइमानी र ठगीको पराकाष्टा हो । मन्त्रीपद त्यागेर पत्रकार रहेको हुँ भन्ने ऋषि धमला र बुध्वत्व प्राप्त गरेँ भन्दै (खुशी पुस्तक) उपदेश दिँदै हिड्ने विजयकुमार पाण्डेजस्तालाई यस्ता व्याख्या गर्न सुहाए पनि ओमबार र अर्जुन जस्ता राजनीतिको एउटा उचाइ ओगटेका व्यक्तित्वलाई पटक्कै सुहाएन । ०१४ सालको विशेष महाधिवेशनका प्रस्तावक ०१५ सालको चुनावी सरकारका प्रधानमन्त्री (तत्कालीन पार्टी सभापति) सुवर्ण शमसेर हुनुहुन्थ्यो । त्यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुनका लागि कमसेकम ५ वर्ष क्रियाशील सदस्य हुनैपर्दथ्यो । त्यसको प्रमाणपत्र चाहिन्थ्यो । तर आजका महाधिवेशन प्रतिनिधी भनेका आजै सेटिङ या किनेर क्रियाशील सदस्य भएर आजै महाधिवेशन प्रतिनिधि भएर आजै केन्द्रीय सदस्य या पार्टी सभापति पनि हुन सक्नेछन् । यस्ता महाधिवेशन प्रतिनिधीको ०१४ सालका महाधिवेशन प्रतिनिधीसँग तुलना गर्नु सर्वाङ्ग नाङ्गिएर लाज पचाएर दाँत ङिच्याउनु जस्तो मात्र हो । जसलाई सरल रूपमा बुझिने भाषामा ‘बाँदरबुद्धि’ भन्न सकिन्छ । अस्तु ।