सिकाइ कोव्रmोदेखि कात्रो अझ गर्भधारणदेखि मृत्यु पर्यन्तसम्म आजीवन चलिरहने प्रक्रिया हो । विभिन्न माध्यम र किसिमले जीवनोपयोगी ज्ञान र सीप हाँसिल गरेर समाजमा आफ्नो उपस्थितिलाई सशक्त बनाउन आवश्यक ज्ञान र सीप अनौपचारिक र औपचारिक माध्यमबाट आर्जन गर्नुपर्ने हुन्छ । आजको २१औँ सताब्दीमा विज्ञान र प्रविधिको तिव्र गतिमा विकास र विस्तार भई राखेको छ । आधुनिक प्रविधिको अधिकतम प्रयोग गरी समृद्धि ल्याउन औपचारिक शिक्षाका विषयवस्तु कतिपय सन्दर्भमा बासी भई सक्छन् । आफूमा भएका मौजुदा ज्ञान सीपलाई निरन्तर अद्यावधिक गरी सफल जीवन जीउन व्यवस्थित र सर्वसुलभ साक्षरता शिक्षाको विकास र विस्तार गर्नुको विकल्प छैन ।साक्षरता मानवको सशक्तिकरण र समृद्धिको प्रस्थान विन्दु हो । जीवनमा उन्नतिको खुड्किला पछ्याउने दीप तथा चढ्ने वैशाखी हो साक्षरता । साक्षर र शिक्षित व्यक्तिको जीवनपयोगी साधनस्रोतमा सहज पहुँचको सुनिश्चितता हुन्छ । व्यक्तिको अन्तरनिहित प्रतिभा आविष्कार गरी सक्षमता र सफलता हाँसील गर्ने कुन्जी एवं जति खर्च ग¥यो त्यति बढ्ने सर्वश्रेष्ठ पुँजी साक्षरता हो । साक्षरता व्यक्तिको सशक्तीकरणको स्तरोन्नतिका लागि भिटामिन र गरिबी, रोग, भोक, रुढीवादी एवं अन्धविश्वासलगायतका पछौटेपनबाट सुरक्षित राख्ने एन्टिवायोटिक हो । साक्षरताले मानव विकासको सीमित सम्भावनाबाट असीमित सम्भावनको दैलो उघार्दछ । विज्ञान र प्रविधिको द्रुत गतिमा भएका ज्ञान एवं सीपसँग साक्षात्कार गर्दै प्रविधि र समृद्धि भित्र्याउन कम्तीमा पनि साक्षर हुनुको विकल्प छैन ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले साक्षर नेपाल अभियानलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमका सञ्चालन गर्दै आएको छ । औपचारिक र अनौपचारिक शिक्षाबाट विभिन्न कारणले विमुख भएका जनसमुदायलाई समेट्ने गरी वैकल्पिक शिक्षाका माध्यमहरू ऋपनाउन थालिएको छ। त्यस्तै उनिहरूमा भएको मौजुदा योग्यताका परीक्षण गरी निरन्तर शिक्षातर्फ आकर्षण गर्न राष्ट्रिय योग्यता प्रारुपको थालनीको आधार तयार गरिँदै छ। त्यस्तै विद्यालय शिक्षामा रहेको पाठ्यक्रमका विषयवस्तुलाई आवश्यकताका आधारमा समायोजन गरी वैकल्पिक माध्यमबाट पठनपाठनका लागिसमेत अध्ययन सामग्री उत्पादनले तीब्रता पाएको छ ।सामाजिक रूपान्तरण गरी देश विकास गर्न त्यस देशको साक्षरता प्रतिशत उच्च हुनु पहिलो सर्त हो । साक्षरता प्रतिशत र देश विकासको गति सामनुपातिक हुने यथार्थता हो । राष्ट्रिय योजना आयोगको प्रतिवेदनअनुसार नेपालमा गरिबीको रेखामुनि अझ २५.४ प्रतिशत जनता छन् । तर युनडिपीको प्रतिवेदनले ६५ प्रतिशत भएको दावी गरेको छ । अशिक्षाले गर्दा गरिबी र गरिबीले गर्दा अशिक्षाको निरन्तर चलिरहने दुष्चक्रलाई तोड्न साक्षरता निर्विकल्प अस्त्र हो।वि.स. २००७ सालमा नेपालको साक्षरता २ प्रतिशत थियो । प्रजातन्त्रको अभ्युदय पश्चात् विभिन्नरूपमा साक्षरता कार्यक्रम सञ्चालन हुँदै आएको पाइन्छ । तर सात दशकभन्दा लामो अवधि खर्चिँदा पनि वर्षको १ प्रतिशतका दरले पनि साक्षरतामा प्रगति भएको देखिँदैन । महिला र पुरूषबीचको साक्षरता खाडल २२ प्रतिशत छ । यस्तो न्यून साक्षरता प्रतिशत भएको मानवीय साधनस्रोतबाट देश विकासमा उल्लेख्य योगदानको अपेक्षा गर्न सकिन्न । सदिआँैदेखि समाजलाई गाँजेर बसेको निरक्षरतालाई चुटकीको भरमा निर्मूल पार्न पनि सकिन्न ।
साक्षर नेपाल अभियान काम हो बखान होइन । यसरी लामो समयसम्म साक्षरता कक्षाहरू सञ्चालन गर्दा पनि आशातित उपलब्धी हासिल किन गर्न सकिएन ? अध्ययनको विषय बन्नुपर्दछ । के विगतका साक्षरतासम्बन्धी योजना तथा कार्यक्रमहरू भरपर्दो तथ्याङ्कमा आधारित थिए त ? पुनर्विचार गर्ने बेला आएको छ । साक्षरतासम्बन्धी विस्तृत र अद्यावधिक तथ्याङ्कको अभिलेखीकरण कसरी राख्न सकिएला ? यी र यस्तै मुद्दाको पर्याप्त अध्ययन अनुसन्धानको आधारमा कार्यक्रमहरू यकिन गर्नुपर्ने हुन्छ । साक्षरता प्रतिशतलाई यथाशक्य छिटो बढाउन नेपाल सरकारले विगत वर्षहरूदेखि १५ देखि ६० वर्ष उमेर समूहका निरक्षरहरूका लागि साक्षरता अभियान सञ्चालन गर्दै आएको छ । नेपाल जस्तो आर्थिक, सामाजिक, सांस्कृतिक, जातीय विविधता र भौगोलिक विकटता भएको विसम परिस्थितिमा साक्षरता अभियानको लक्ष्यमा पुग्न विभिन्न खाले समस्या र चुनौती सामना गर्नु स्वाभविकै हो । दिगो र भरपर्दो अद्यावधिक तथ्याङ्कको व्यवस्थापन अभावमा विगतका साक्षरता कार्यक्रमको उपलब्धी ‘हिँड्दै छ पाइला मेट्दै छ’ जस्तै भएको छ । आगामी दिनहरूमा तथ्याङकको वैधता र विश्वसनीयतालाई उच्च प्राथमिकता दिएर नामनामेसी संकलन र व्यवस्थापनको खाँचो खट्किएको छ ।साक्षरता अभियानलाई सफल पार्न धेरै चुनौतीहरूको सामना गर्न नपर्ला भन्न सकिन्न । निरक्षरहरूको साक्षरता कक्षामा अनियमितता तथा निरक्षरले बीचैमा कक्षा छाड्ने नकारात्मक प्रवृत्तिलाई निरुत्साहित गर्दै उत्साहजनक र जाँगरिलो सहभागिता जुटाउन सकिएला ? चिन्ता र चिन्तनको विषय हो । साक्षरताको विषयवस्तुलाई उनीहरूको दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने ज्ञान सीपमा समयसापेक्षरूपमा परिमार्जन र परिष्कृत गर्दै पेशागत दक्षतामा अभिवृद्धि गरी निर्वाहमुखीबाट व्यावसायिकमुखी बनाउँदै लाने रणनीतिको अवलम्बन आजको आवश्यकता हो । साक्षरतालाई निरक्षरले अपनाइ आएको पेशामैत्री बनाएर कहरले नभई रहरले पढ्ने वातावरण सिर्जना गर्नु आवश्यक छ । साक्षरताले नाना, छाना र खाना सुनिश्चित गर्न टेवा पुगोस् । सहभागीले दैनिकीमा भोगेका समस्या र चुनौतीलाई सम्बोधनका लागि दक्षता आर्जन गर्ने खालका विषयवस्तुले साक्षरता प्रति उनीहरूको चाहना र विश्वास बढाउन सक्दछ ।
साक्षरताको ज्ञान र सीप कैंचीका दुई धार जस्तै हुन एउटा धार बोधो (भुत्ते) भएमा अर्को जतिसुकै धारिलो भए पनि निरर्थक हुन्छ । साक्षरतालाई सीपसँग जोड्ने कार्यक्रम सुरूवात गरिनुपर्दछ । साक्षरता कार्यक्रमलाई सशक्त व्यापक र प्रतिफलमुखी बनाउन सार्वजनिक सरकारी अवधारणाअनुसार विकेन्द्रित रूपमा सञ्चालन गर्ने नीति आवश्यक देखिन्छ । निरक्षरताको कारणबाट आइलागेको अन्धविश्वास र पछौटेपन यथाशक्य छिटो छिमल्न प्रत्येक नागरिक साक्षर हँुदै शिक्षित हुनुको विकल्प छैन । साक्षरता कार्यक्रम र अभियानलाई सरकार र सरोकार पक्षको जवाफदेहीपूर्ण सहकार्यको खाचो पर्दछ । नेपाललाई निरक्षरतामुक्त राष्ट्र बनाउन संघ, प्रदेश र स्थानीयतहका सरकारको जवाफदेही र जिम्मेवारी तोकिनु पर्दछ। साक्षरता शिक्षालाई उपलब्धिमूलक बनाउन परम्परागत विधि र विषयलाई समयानुकूल परिमार्जन र परिष्कृत गर्दैै लानु बुद्धिमानी ठहर्छ। अब निरक्षरहरू पढ्न साक्षरता कक्षामा आउनुपर्छ भन्ने पूरातन सोचलाई तोड्दै साक्षरता कक्षा नै निरक्षरसम्म जानुपर्छ । सोही मान्यताको आधारमा निरक्षर महिला, दलित, पिछडिएको जातजाती र सीमान्त एवं विपन्न वर्गको पहिचान गरी माग र आवश्यकताको आधारमा मात्र कक्षा वितरण गरिनुपर्दछ । साक्षरता कक्षा वितरण व्यवस्थालाई समावेशी सहभागितामुलक एवं विकेन्द्रीकृत गर्दै साक्षरता कक्षा सञ्चालनमा संलग्न हुने स्वयं सेवक, स्थानीय निरीक्षक र व्यवस्थापकीय पदाधिकारी आदिको चयन निरक्षरता उच्च प्रतिशत भएको समूहका योग्यता पुगेका स्थानीय महिला, दलित, पिछडिएका जातजातीलाई नै रोजगारीको प्राथमिकता दिइने नीति लाभदायक हुन्छ नै । मातृभाषामा आधारभूत शिक्षा हासिल गर्न पाउने संवैधानिक व्यवस्थालाई प्रत्याभूति गर्दै जाने नीति अनुरूप नेपाली लगायत अन्य मातृभाषामा समुदायको मागअनुसार पाठ्यक्रम र पाठ्पुस्तक विकास गरी पठनपाठनको व्यवस्था गरिनु पर्दछ। समाजमा वर्षौंदेखि जरा गाडेर बसेको निरक्षरतारूपी अभिशापलाई छिमल्न सबै संघ, सस्था र व्यक्तिको सामूहिक सद्भाव, सहयोग, सहकार्य, समन्वय, समर्पण, समीक्षा र स्वामित्व (सात ‘स’) अपरिहार्य हुन्छ । विदेशी अनुदानमा नभई स्वदेशी धनमा सञ्चालित साक्षरता अभियानलाई सफल पार्न सबैका लागि साक्षरता अभियान र साक्षरता अभियानका लागि सबै भन्ने सद्वाक्यलाई व्यवहारमा उतार्ने अठोट गरेमा सबै खाले पछौटेपनको कारक निरक्षरताको दलदलबाट नेपालीलाई उद्दार गर्न सकिएला ।