निर्वाचन हुन्छ कि हुँदैन भन्ने संशयका बीच अन्ततः संघारमै आइसकेको छ । समय, परिस्थिति र संसद्को संरचनाले यो मध्यावधि निर्वाचन हुनुपर्ने समय थिएन । तर हिंसात्मक गतिविधिका बीच भएको ठूलो मानवीय र भौतिक क्षतिले निर्माण गरेको वातावरणले मध्यावधि गराएको हो । यो निर्वाचनबाट सबभन्दा बढी लाभान्वित हुने पक्ष हो संसद्को चौथो शक्ति । यो चुनावमा आफूलाई दुई तिहाइ मत प्राप्त हुने भनेर उसले गरेको दाबीले पनि त्यस्तै संकेत गर्छ । याद रहोस् यो निर्वाचनको मूल जग मानिएको जेन–जीको आन्दोलन क्रममा यही एउटा दल मात्रै हो, जसले कुनै भौतिक क्षति व्यहोर्नु परेन । नत्र अरू दलका नेताहरूले कतै कुटाइ खाए र कतै आवास जलाइनेमा परे । यस्तो पृष्ठभूमिमा निर्वाचनको आहृवान भयो र त्यस्तो निर्वाचनको आहृवान गर्ने नागरिक भनिएको सरकारमा यही दलको वर्चस्व रहेको देखियो । सम्बन्धित दलका लागि यो धेरै अनुकूलको वातावरण हो । यस्तो बेला ऊ आफैं बढी संयमित हुनपर्नेमा पछिल्लो समय यसका नेताहरूका उत्तेजनायुक्त भाषण र यसका कार्यकर्ताहरूको भिडन्तमा उत्रने मनोदशाले चुनावमा अप्रिय घटनाका शृंखलाहरू प्रकट हुन थालेका छन् । जो कुनै पनि प्रकारले स्वीकार्य हुनुहुँदैन ।
निर्वाचन नजिकिँदै जाँदा बढी उत्तेजना फैलाउनेमा रास्वपा अघि देखियो । कसैका झण्डा जलाइदिने, अरूका सभामा गएर आफ्नो चुनाव चिहृन प्रदर्शन गर्ने उम्मेदवारहरूले अरू दलमाथि अभद्र प्रकारका लाञ्छना लगाउने जस्ता काम यही दलबाट बढी भइरहेका छन् । यसको प्रतिकार भयो भने वातावरण भिडन्ततर्फ लाग्छ । यसका कार्यकर्ताका काम र उम्मेदवारका अभिव्यक्तिले निरन्तर विवाद निम्तिएको देखिएको अवस्था छ । जस्तो सुनसरी र ललितपुरमा रास्वपाका दुई उम्मेदवारले दिएका आक्रामक अभिव्यक्ति मतदाताबीच नै आपत्तियुक्त मानिएको भनेर रिपोर्ट आइरहेका छन् । सुनसरी–३ का उम्मेदवार अशोक चौधरीले आफ्नो क्षेत्रको एउटा अन्तरक्रिया कार्यक्रममा आफ्नो पार्टीलाई भोट नहाल्नेहरूलाई ‘देशविरोधी’को संज्ञा दिए । निर्वाचनमा मन परको उम्मेदवार दललाई उनको भनाइ थियो, तपाइँहरू परिवर्तन चाहनुहुन्छ भने दुई तिहाइ पु¥याउन लाग्नुस् । यदि लाग्नुहुन्न भने तपाइँ अस्थिर सरकार चाहनुहुन्छ, तपाइँ देश विरोधी हो । उनको यो अभिव्यक्तिले अरू सहभागीलाई उत्तेजनायुक्त बनायो । स्थिति कतिसम्म तनावपूर्ण भयो भनेपछि प्रहरीले यी उम्मेदवारको सुरक्षाका लागि पनि घेरामा राखेर कार्यक्रमस्थलबाट बाहिर निकाल्नुप¥यो । कुनै दल वा उम्मेदवारलाई मत नदिँदैमा एउटा नागरिक कसरी देशद्रोही हुन्छ ? भन्ने प्रश्नले अझै पनि यो क्षेत्र तनावयुक्त रहेको समाचारहरू आइरहेका छन् । अन्यत्र कार्यकर्ताले अरूमाथि आक्रमण गर्ने नियत राखेको देखिएकै समयमा यो ठाउँमा उम्मेदवार नै विवादित बने ।
यही बेला केन्द्रीय राजधानी रहेको जिल्ला ललितपुर क्षेत्र नम्बर २ मा पनि करिब–करिब यस्तै अप्रिय घटना निम्त्याउने काम भएको देखियो । यो क्षेत्रका रास्वपा उम्मेदवार त चुनावी घरदैलोका क्रममा नै मतदातासँग चर्काचर्की गर्न पुगे । घरदैलोमा पुगेर मतदातालाई ४५ वर्षदेखि देश लुटेर खाने दलको हनुमान भन्दै मतदातालाई गाली गर्न थालेपछि स्थिति तनावयुक्त भएको थियो । यो घटनाको भिडियो नै सामाजिक सञ्जालमा भाइरल बन्यो । निर्वाचनमा खडा भएका उम्मेदवारसँग मतदाताले मनमा लागेको प्रश्न सोध्न पाउँदैनन् भने उम्मेदवारसँग मतदाताको निकटता कसरी बढ्छ भन्ने प्रश्न स्वाभाविक रूपले उठ्छ । मतदाताले यी उम्मेदवार एउटा विदेशी फाउन्डेसनसँगको आबद्धता रहेको भनेर त्यसमा प्रष्ट हुन खोजेका थिए । मतदाता आफैं उम्मेदवारका घर गएका होइनन् । उम्मेदवारसँग मतदाता प्रष्ट हुन खोज्दा त्यत्रो ठूलो आपत्ति गर्नुपर्ने विषय नै थिएन ।
यसकै हाराहारीमा पश्चिमतिर यही दलका कार्यकर्ता/समर्थकले अर्को दल एमालेको चुनाव चिहृन सूर्य अंकित झण्डा जलाइदिएका समाचारहरू भाइरल भए । त्यसैमा नेकपाको आम सभामा पनि आफ्नो चिहृन देखाएर बिथोल्न खोजिएको विवरणहरू सञ्चार माध्यममा देखिए । यस्ता घटनामा सम्बन्धित दल सचेत र संयमित बनोस् ।