नेपालको पुँजी बजार पछिल्ला वर्षहरूमा आम नागरिकको चासोको केन्द्र बनेको छ । लाखौं सर्वसाधारणहरू प्रत्यक्ष रूपमा सेयर बजारमा आबद्ध भएका छन् । तर लगानीकर्ताको संख्या बढे पनि नेपालको पुँजी बजारमा संस्थागत विकास र संरचनागत सुधार अपेक्षाकृत ढिलो गतिमा अघि बढेको देखिन्छ । यस्तो अवस्थामा पुँजी बजारको प्रमुख संस्था नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) सुधारको प्रक्रियामा कहाँ चुक्यो भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।
सबैभन्दा पहिले, नेप्सेले प्रविधि सुधारलाई समयमै प्राथमिकता दिन सकेन । विश्वका अधिकांश पुँजी बजारहरू प्रविधिमैत्री प्रणालीमा रूपान्तरण भइसकेका बेला नेप्से लामो समयसम्म पुरानो संरचनामै अड्किएको देखिन्छ । कारोबार प्रणालीमा बारम्बार आउने समस्या, प्रणालीको क्षमता सीमित हुनु तथा सेवा अवरोधजस्ता विषयहरूले लगानीकर्तामा असन्तोष बढाएको छ । पुँजी बजार जस्तो संवेदनशील क्षेत्रमा प्रविधि नै मेरुदण्ड हुने भए पनि त्यसलाई समयमै सुदृढ गर्न नसक्नु नेप्सेको प्रमुख कमजोरी हो । यसैगरी बजारको विविधीकरणमा पनि नेप्से प्रभावकारीरुपमा गर्न सकेको छैन । नेपालमा सेयर बजार मुख्यतः बैंक तथा वित्तीय संस्थामा केन्द्रित रहेको छ । उत्पादनमूलक उद्योग, प्रविधि कम्पनी, ठूला पूर्वाधार परियोजना तथा बहुराष्ट्रिय स्तरका कम्पनीहरूलाई पुँजी बजारमा ल्याउने पहल अपेक्षाकृतरुपमा अहिलेसम्म पनि निकै कमजोर रहेको छ । फलस्वरूप बजार सीमित क्षेत्रमै केन्द्रित रहँदा जोखिमको सन्तुलन कायम हुन सकेन । नेप्सेमा बजार पारदर्शिता र सूचनाको पहुँच सुधार गर्ने विषयमा पनि अपेक्षाकृत ढिलाइ देखिएको छ । लगानीकर्तालाई समयमै सही सूचना उपलब्ध गराउने, तथ्यांक विश्लेषणलाई सहज बनाउने तथा बजारको वास्तविक अवस्था बुझ्न सकिने प्रणाली विकास गर्न नेप्सेले अझ सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता देखिन्छ । यस सन्दर्भमा नियामक संस्था नेपाल धितोपत्र बोर्ड र नेप्सेबीचको समन्वय पनि कहिलेकाहीँ कमजोर देखिएको टिप्पणी हुँदै आएको छ ।
नेप्सेले पुँजी बजार सुधारका दीर्घकालीन नीतिगत योजनामा पनि प्रष्ट रूपमा अगाडि सार्न सकेको छैन । पुँजी बजारलाई क्षेत्रीय स्तरमा प्रतिस्पर्धी बनाउने, नयाँ वित्तीय उपकरणहरू भित्र्याउने तथा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने जस्ता विषयमा अपेक्षित गति देखिएको छैन । परिणामस्वरूप बजार अझै पनि अल्पकालीन सट्टेबाजीको प्रभावबाट मुक्त हुन सकेको छैन ।
साँचो अर्थमा भन्नुपर्दा नेपालको पुँजी बजारलाई सुदृढ बनाउन नेपाल स्टक एक्सचेन्ज लिमिटेडले संस्थागत सुधार, प्रविधि आधुनिकीकरण, पारदर्शिता वृद्धि र बजार विविधीकरणमा ठोस कदम चाल्नुपर्ने आवश्यकता छ । लगानीकर्ताको विश्वास नै पुँजी बजारको सबैभन्दा ठूलो आधार हो । यदि सुधारका प्रयासहरू स्पष्ट, पारदर्शी र दीर्घकालीन दृष्टिकोणसहित अघि बढाइए भने नेपालको पुँजी बजारले आर्थिक विकासमा अझ प्रभावकारी योगदान दिन सक्नेछ ।
नेप्सेको हकमा पुँजी बजार सुधारको कुरा गरिरहँदा नेपाल धितोपत्र बोर्डको पुँजी बजार सुधारको लागि भूमिका के भन्ने प्रश्न उब्जन सक्छ । यस अर्थमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को समेत नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको नेपालको पुँजी बजारको बिकासको लागि अझै ठूलो भूमिका रहेको छ । नेपालमा बैंक तथा वित्तीय संस्थामा आधारित परम्परागत वित्तीय प्रणालीलाई सन्तुलनमा राख्दै दीर्घकालीन लगानी, उद्योग विस्तार, रोजगारी सिर्जना र पुँजी परिचालनका लागि पुँजी बजार अपरिहार्य माध्यम हो । यस्तो अवस्थामा नियामक निकायका रूपमा नेपाल धितोपत्र बोर्डको भूमिका झन् निर्णायक बन्छ । पुँजी बजारलाई पारदर्शी, विश्वसनीय, समावेशी र गतिशील बनाउन धितोपत्र बोर्डले आफ्नो कार्यक्षमता, नीतिगत स्पष्टता र प्रविधिमैत्री दृष्टिकोणलाई सुदृढ गर्नुपर्ने देखिन्छ ।
धितोपत्र बोर्डको प्राथमिक जिम्मेवारी बजारमा विश्वासको वातावरण सिर्जना गर्नु हो । लगानीकर्ताको विश्वास विना कुनै पनि पुँजी बजार दीर्घकालीन रूपमा टिकाउ हुन सक्दैन । नेपालमा पटक–पटक देखिने बजार उतारचढाव, सूचनाको असमान पहुँच, भित्री कारोबार र अफवाहमा आधारित कारोबारले लगानीकर्तामा असुरक्षा पैदा गर्ने गरेको छ । यसलाई नियन्त्रण गर्न बोर्डले कडा अनुगमन प्रणाली, पारदर्शी सूचना प्रवाह र कडा कारबाहीको व्यवस्था लागू गर्नुपर्छ। डिजिटल निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउँदै बजारमा हुने अस्वाभाविक गतिविधिलाई तत्काल पहिचान र नियन्त्रण गर्न सक्नुपर्छ ।
नीतिगत स्थायित्व र स्पष्टता धितोपत्र बोर्डको अर्को महत्वपूर्ण दायित्व हो । बारम्बार नियम परिवर्तन हुँदा लगानीकर्तामा अन्योल सिर्जना हुन्छ र बजार अस्थिर बन्छ । त्यसैले दीर्घकालीन रणनीति बनाएर त्यसैअनुसार नियमहरू कार्यान्वयन गर्नु आवश्यक छ । नयाँ वित्तीय उपकरणहरूको विकासमार्फत पुँजी बजारलाई विस्तार गर्नु जरुरी छ । हाल नेपालको पुँजी बजार मुख्यतः साधारण सेयर र सीमित बन्डहरूमा केन्द्रित छ । विकसित बजारहरूमा जस्तै डेरिभेटिभ्स, एक्सचेन्ज ट्रेडेड फन्ड, कर्पोरेट बन्ड, ग्रीन बन्ड, रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्टजस्ता उपकरणहरू ल्याउन सकेमा लगानीकर्ताको विकल्प बढ्छ र बजारमा अझै बढ्छ । यसका लागि धितोपत्र बोर्डले आवश्यक कानुनी तथा संरचनात्मक तयारी गर्नुपर्छ । लगानीकर्ता शिक्षा र सचेतना पुँजी बजार विकासको आधारभूत पक्ष हो । नेपालमा अझै पनि धेरै लगानीकर्ता विना पर्याप्त ज्ञान बजारमा प्रवेश गर्ने प्रवृत्ति देखिन्छ । यसले बजारमा अव्यवस्थित व्यवहार र अनावश्यक जोखिम बढाउँछ । धितोपत्र बोर्डले नियमित रूपमा लगानीकर्ता शिक्षा कार्यक्रम, अनलाइन सामग्री, तालिम तथा सचेतनामूलक अभियान सञ्चालन गर्नुपर्छ । विद्यालय तथा विश्वविद्यालय स्तरमै वित्तीय साक्षरता समावेश गर्न पहल गर्नु पनि दीर्घकालीन रूपमा प्रभावकारी हुन्छ । प्रविधिको अधिकतम उपयोग आजको डिजिटल युगमा अपरिहार्य छ । अनलाइन ट्रेडिङ प्रणाली, डिम्याट खाता, सी–आस्वा प्रणालीजस्ता सुधारहरूले नेपालमा पुँजी बजारलाई आधुनिक बनाएको छ । तर अझै पनि सुधारको धेरै सम्भावना छ । ब्लकचेन प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्समा आधारित निगरानी प्रणाली, रियल–टाइम डेटा विश्लेषणजस्ता उपाय अपनाएर बजारलाई थप सुरक्षित र प्रभावकारी बनाउन सकिन्छ । धितोपत्र बोर्डले प्रविधिमैत्री नीति ल्याएर नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्छ ।
संस्थागत लगानीकर्ताको विकास मा पनि धितोपत्र बोर्डको ध्यान जानुपर्छ । नेपालमा व्यक्तिगत लगानीकर्ताको हिस्सा धेरै छ, जसले बजारलाई बढी संवेदनशील बनाउँछ । बीमा कम्पनी, पेन्सन फन्ड, म्युचुअल फन्डजस्ता संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्न सकेमा बजार स्थिर र परिपक्व बन्छ । यसका लागि आवश्यक नीतिगत सहुलियत र स्पष्ट मार्गनिर्देशन आवश्यक हुन्छ । अन्तर्राष्ट्रिय समन्वय र लगानी आकर्षण पनि महत्वपूर्ण पक्ष हो । विदेशी लगानी भित्र्याउन सकेमा नेपालको पुँजी बजारले नयाँ उचाइ हासिल गर्न सक्छ । यसका लागि धितोपत्र बोर्डले अन्तर्राष्ट्रिय मान्यता प्राप्त मापदण्डहरू अपनाउनु, पारदर्शिता कायम गर्नु र विदेशी लगानीकर्ताका लागि सहज वातावरण तयार गर्नु आवश्यक छ । धितोपत्र बोर्डले आफ्नो स्वायत्तता र जवाफदेहिता दुवैलाई सुदृढ गर्नुपर्छ । राजनीतिक हस्तक्षेपबाट मुक्त भई व्यावसायिक निर्णय लिन सक्ने वातावरण आवश्यक छ । साथै, आफ्नो निर्णयप्रति जवाफदेही रहँदै पारदर्शी कार्यशैली अपनाउनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
समग्रमा भन्नुपर्दा नेपालको पुँजी बजार विकासका लागि नेपाल धितोपत्र बोर्डले नियामकमात्र नभई एक मार्गदर्शक, सहजीकरणकर्ता र नवप्रवर्तनको प्रवर्द्धकको भूमिका निर्वाह गर्नुपर्छ । पारदर्शिता, नीतिगत स्थायित्व, प्रविधि प्रयोग, लगानीकर्ता शिक्षा र बजार विविधीकरणमा ध्यान केन्द्रित गर्न सकेमा नेपालको पुँजी बजारले दिगो र समावेशी विकासको बाटो समात्न सक्छ ।