काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले तत्काल अनुभूति गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
मन्त्रालयका कामकारबाहीबारे जानकारी लिँदै उनले जनतालाई तत्काल लाभ हुने र प्रतिफल आउने गरी जनमुखी काम गर्न आग्रह गरेका हुन् । सञ्चार मन्त्रालय सरकारको अनुहार र नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय रहेकोले कुनै पनि विवादीत काम नगर्न पनि उनले निर्देशन दिए । देशमा एउटा नयाँ राजनीतिक परिदृश्य देखिएको छ । निर्वाचनले हामीलाई अभूतपूर्व ‘म्यान्डेड’ दिएका छन् । जनअपेक्षा पनि धेरै छन् । त्यसैले जनताले तत्काल अनुभूति गर्नेगरी सरकारले काम गर्नुपर्ने दायित्व छ । उनले भने, ‘सेवा प्रवाह छिटो र छरितो हुनुपर्यो । कुनै पनि विवादित कामहरू हुनुभएन ।’ नवगठित सरकारको भावनाअनुसार जनतालाई केन्द्रमा राखेर सरल, छिटो र छरितो सेवा प्रवाह बनाइनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘सेवाग्राहीले समस्या महसुस गर्नुभन्दा अगाडि नै हामीले समाधान गरिसक्नुपर्छ । जनभावनालाई सम्मान गरेर देशले खोजेको बाटोमा मुलुकलाई अगाडि बढाउन सबैले योगदान गर्नुपर्छ ।’
मन्त्रालयले तत्काल गर्नुपर्ने सुधार र दीर्घकालीन कार्ययोजना ल्याउन पनि उनले उच्चपदस्त अधिकारीलाई आग्रह गरे । सञ्चार मन्त्रालयलाई नमूना मन्त्रालयका रूपमा स्थापित गर्नेगरी काम गर्नुपर्ने उनको भनाइ थियो । ‘डिजिटल डिभाइड’ हटाउन कार्ययोजनासहित द्रुतगतिमा काम गर्नुपर्ने खाँचो उनले औँल्याए । तत्काल ‘रिफर्म’ गर्नुपर्ने, नयाँ मस्यौदा गर्नुपर्ने ऐनहरू चाँडो प्रस्तुत गर्न तथा जनतालाई राहत हुनसक्ने र सकारात्मक सन्देश दिनसकिने कामको कार्ययोजना तयार पार्न उनले निर्देशन दिए । सामूहिक नेतृत्व प्रणाली, समन्वय र सहकार्यबाटै चाँडो परिणाम आउने भन्दै उनले सबै जिम्मेवार भएर काममा लाग्नुपर्नेमा जोड दिए । ‘आ–आफ्नो तहबाट प्रोएक्टिभ भएर काम गरौँ, जनताले खोजेको गतिअनुसार समय दिएर काम गर्न जरुरी छ’, उनले भने ।
त्यस अवसरमा सबै महाशाखा प्रमुखले आ–आफ्ना महाशाखाको वस्तुस्थिति, प्रगति विवरण, समस्या र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले जनचाहनाअनुरुप सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन मन्त्रालय कार्ययोजनाका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाइन् । मुलुकको दूरसञ्चार सेवालाई प्रभावकारी बनाई गुनासो नआउने किसिमले काम गर्न उनले कर्मचारीलाई निर्देशनसमेत दिइन् ।