काठमाडौं । नेपालले चार अर्ब ५९ करोड रुपैयाँबराबरको चिया निर्यात गरेको छ । नेपालले एक करोड ५६ लाख केजी चिया निर्यात गरी उक्त रकमबराबरको वैदेशिक मुद्रा आर्जन गरेको हो ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा कुल २० हजार ६०२ हेक्टर जमिनमा चिया खेती गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा दुई करोड ६१ लाख केजी तयारी चिया उत्पादन भएको बोर्डले जनाएको छ । कुल निर्यातको करिब ८६ प्रतिशत हिस्सा भारतमा हुने गरेको बोर्डका कार्यकारी निर्देशक फाइन्द्र राज पाण्डेले जानकारी दिए । उनका अनुसार पछिल्लो सात वर्षमा चिया निर्यातमा उताडचडाप देखिएको छ । आर्थिक वर्ष २०८१/८२मा एक करोड ५६ लाख केजी चिया निर्यात गरेको नेपालले २०८०/८१मा एक करोड ३९ लाख केजी निर्यात गरी तीन अर्ब ६२ करोड रुपैयाँ भित्र्याएको थियो । यस्तै आव २०७५/७६मा तीन अर्ब २० करोड रुपैयाँ, २०७६/७७मा दुई अर्व ७८ करोड, २०७७/७८मा तीन अर्ब ७९ करोड, २०७८/७९मा तीन अर्ब ४३ करोड र २०७९/८०मा तीन अर्ब ९३ करोड रुपैयाँबराबरको चिया निर्यात गरेको बोर्डले जनाएको छ ।
नेपालले चिया निर्यातसँगै आयात पनि गर्ने गरेको बोर्डले जनाएको छ । वोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२मा नेपालले नौ करोड रुपैयाँबराबरको चिया आयात गरेको थियो । बोर्डका अनुसार नेपाली चिया क्षेत्रले उत्पादन र पहिचानमा उल्लेखनीय प्रगति गरे पनि बजारीकरणका क्षेत्रमा चुनौतीहरू कायम छन् । निर्यात प्रवद्र्धनका लागि खाद्य प्रविधि प्रयोगशालाको सुदृढीकरण तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा थप पहल आवश्यक रहेको बोर्डका कार्यकारी निर्देशक पाण्डेले बताए । बोर्डका अनुसार हाल देशभर १५ हजार एक सय ३२ जना चिया कृषक रहेका छन् । एक सय ७० वटा टी स्टेट तथा साना–मझौला गरी एक सय २० वटा प्रशोधन केन्द्रमार्फत करिब ६० हजार जनाले यस क्षेत्रमा रोजगारी पाएको बोर्डले जनाएको छ ।
बोर्डले मंगलबार ३०औँ राष्ट्रिय चिया दिवस मनाउन लागेको पनि जानकारी दिएको छ । बोर्डले हरेक वर्ष वैशाख १५ गते चिया दिवस मनाउँदै आएको छ । यस वर्षको चिया दिवस ‘स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार !’ भन्ने मूल नाराका साथ देशभर मनाइँदैछ । यस वर्षको औपचारिक कार्यक्रम इलामको सूर्योदय नगरपालिका–फिक्कलमा सञ्चालन हुने बोर्डले जनाएको छ ।