पछिल्लो समय विश्वमा बढ्दै गएको द्वन्द्व अर्थात् लडाइँले आम नेपाली जनताको भातभान्छा निकै प्रभावित बनेको अर्थात् महँगो भएको छ । विशेषगरी रेमिटेन्सको भरमा चलेको नेपालको अर्थतन्त्र र भात भान्छा विश्वमा बढ्दै गएको द्वन्द्वसंगै निकै गहिरोसंग प्रभावित बनेको हो । अमेरिका, इजराइल र इरानबिचको द्धन्द्ध, रसिया र युक्रेनबीचको द्वन्द्वले विश्वका धेरै राष्ट्रका जनताहरूको आर्थिक तथा सामाजिक जीवन तहसनहस बनाएको छ । यसैको प्रभाव अहिले नेपालको अर्थतन्त्रमा पनि देखिएको छ ।
विश्व अर्थतन्त्र आजको दिनमा परस्पर निर्भर प्रणालीको रूपमा विकसित भएको छ, जहाँ कुनै एक क्षेत्रको अस्थिरताले अर्को क्षेत्रका देशहरूमा समेत गहिरो प्रभाव पार्छ । विशेषतः मध्यपूर्व क्षेत्र, जसलाई विश्वको प्रमुख ऊर्जा आपूर्तिकर्ता मानिन्छ, त्यहाँ हुने द्वन्द्व र राजनीतिक अस्थिरताले विश्वव्यापी आर्थिक संरचनामा हलचल ल्याउने गर्छ । नेपालजस्तो सानो र आयातमा निर्भर देशका लागि यस्तो अस्थिरता झन् गम्भीर चुनौतीका रूपमा देखा पर्छ । मध्यपूर्वको द्वन्द्वले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा नेपालको अर्थतन्त्रलाई कमजोर बनाइरहेको छ ।
सबैभन्दा पहिला, पेट्रोलियम पदार्थको मूल्यवृद्धि यसको मुख्य कारण हो । नेपालले आफ्नो ऊर्जा आवश्यकताको ठूलो हिस्सा आयातमार्फत पूरा गर्छ, विशेषगरी भारत हुँदै आउने पेट्रोलियम पदार्थमा निर्भर छ । मध्यपूर्वमा द्वन्द्व चर्किँदा कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्छ, जसको असर नेपालमा समेत देखिन्छ । पेट्रोल, डिजेल, एलपी ग्यासको मूल्यवृद्धिले यातायात, उत्पादन र दैनिक उपभोग्य वस्तुहरूको लागत बढाउँछ । यसले महँगी (मुद्रास्फीति) बढाउँछ र उपभोक्ताको क्रयशक्ति घटाउँछ ।
दोस्रो भनेको वैदेशिक रोजगारीमा परेको प्रभाव पनि हो । नेपालका लाखौं युवा मध्यपूर्वी देशहरूमा रोजगारीका लागि गएका छन्। साउदी अरब, कतार, यूएईजस्ता देशहरू नेपाली श्रमिकका प्रमुख गन्तव्य हुन् । जब त्यहाँ द्वन्द्व हुन्छ, आर्थिक गतिविधि सुस्ताउँछ, निर्माण र सेवा क्षेत्रमा रोजगारी घट्न सक्छ। यसले नेपाली श्रमिकहरूको रोजगारी असुरक्षित बनाउँछ र कतिपय अवस्थामा उनीहरूलाई स्वदेश फर्कन बाध्य पार्छ । यसले रेमिटेन्समा गिरावट ल्याउँछ, जुन नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ ।
द्वन्द्वको प्रभाव पर्यटन क्षेत्रमा पनि परेको छ । नेपालमा आउने पर्यटकमध्ये धेरैजसो युरोप र अन्य विकसित मुलुकबाट आउने गर्छन् । मध्यपूर्वको अस्थिरताले अन्तर्राष्ट्रिय यात्रा महँगो र असुरक्षित बनाउँछ । विमान सेवा प्रभावित हुन्छ, उडान मार्ग परिवर्तन हुन्छन्, जसले यात्रा खर्च बढाउँछ । यसले पर्यटक आगमनमा कमी ल्याउँछ, जसले होटल, रेस्टुरेन्ट, ट्रेकिङ व्यवसायजस्ता क्षेत्रमा नकारात्मक असर पार्छ ।
यसैगरी वैदेशिक व्यापारमा देखिएको असन्तुलन पनि एउटा गम्भीर समस्या हो । नेपालले धेरै वस्तुहरू आयात गर्छ तर निर्यात न्यून छ । मध्यपूर्वको द्वन्द्वका कारण ढुवानी लागत बढ्छ, आपूर्ति श्रृंखला अवरुद्ध हुन्छ । यसले आयात महँगो बनाउँछ र व्यापार घाटा अझै बढाउँछ । विदेशी मुद्रा सञ्चिति दबाबमा पर्छ, जसले आर्थिक स्थायित्वमा खतरा ल्याउँछ । लगानी वातावरणमा आएको अस्थिरता पनि विचारणीय पक्ष हो । जब विश्वव्यापी रूपमा अस्थिरता बढ्छ, विदेशी लगानीकर्ता जोखिम लिन हिच्किचाउँछन् । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न पहिले नै चुनौतीहरू छन् । यस्तो अवस्थामा मध्यपूर्वको द्वन्द्वल लगानीकर्ताको विश्वास झन् कमजोर बनाउँछ । यसले दीर्घकालीन आर्थिक विकासका सम्भावनाहरूलाई प्रभावित पार्छ ।
सरकारी वित्तीय व्यवस्थापनमा परेको असर पनि महत्वपूर्ण छ । महँगी बढ्दा सरकारले जनतालाई राहत दिन विभिन्न अनुदान र सहुलियत दिनुपर्ने हुन्छ। यसले सरकारी खर्च बढाउँछ । अर्कोतर्फ, आर्थिक गतिविधि सुस्त हुँदा कर संकलन घट्छ । यसले बजेट घाटा बढाउँछ र ऋण निर्भरता बढ्न सक्छ । यस्ता चुनौतीहरूका बीचमा नेपालले दीर्घकालीन समाधानका उपायहरू खोज्न जरुरी छ । यसको लागि ऊर्जा स्रोतको विविधीकरण गर्नुपर्छ । जलविद्युत्, सौर्य ऊर्जा जस्ता स्वदेशी स्रोतहरूको विकासमा जोड दिनुपर्छ । वैदेशिक रोजगारीमा निर्भरता घटाउँदै स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ । औद्योगिकीकरण, कृषि आधुनिकीकरण र साना तथा मझौला उद्यमहरूको प्रवर्द्धन आवश्यक छ । पर्यटन क्षेत्रलाई थप आकर्षक र प्रतिस्पर्धी बनाउन पूर्वाधार सुधार र प्रवर्द्धन गर्नुपर्छ । चौथो, निर्यात प्रवर्द्धन गरी व्यापार घाटा कम गर्नुपर्ने आवश्यकता छ । पाँचौँ, लगानीमैत्री वातावरण सिर्जना गर्न नीतिगत स्थायित्व र पारदर्शिता आवश्यक छ ।
मध्यपूर्वको द्वन्द्व नेपालको नियन्त्रणभन्दा बाहिरको विषय भए पनि त्यसका प्रभावहरूलाई न्यूनिकरण गर्न सकिन्छ । यसको लागि दीर्घकालीन योजना, सुदृढ नीति र सक्षम नेतृत्व आवश्यक छ । विश्वव्यापी अस्थिरताका बीच पनि आत्मनिर्भर र सुदृढ अर्थतन्त्र निर्माण गर्न सके नेपालले यस्ता बाह्य चुनौतीहरूलाई अवसरमा समेत रूपान्तरण गर्न सक्छ । यसैले, मध्यपूर्वको द्वन्द्व केवल एक क्षेत्रीय समस्यामात्र होइन, यो नेपालजस्ता विकासोन्मुख देशका लागि आर्थिक चुनौतीको प्रमुख स्रोत बनेको छ । समयमै सचेत भई उपयुक्त रणनीति अपनाउन सके मात्र यसको नकारात्मक प्रभावलाई कम गर्न सकिन्छ ।